ग्लोबल आइएमई बैंकको लाभांश पारित, ६ जना सञ्चालक निर्वाचित



काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित भएको छ ।

बिहीबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयर धनीलाई ८ प्रतिशत नगद र १ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव आजसम्पन्न सभाले पारित गरेको हो ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन नाफा १२ अर्ब ६९ करोड रुपैयाँ र कर पछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।

साधारणसभामा बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक आफ्ना सेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।

साधारणसभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना गरी ६ जना संचालकको निर्वाचन गरेको छ । संस्थापक सेयरधनीहरुमध्येबाट चन्द्रप्रसाद ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । सबै सञ्चालक समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन्

आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानी तर्फ अघिल्लो वर्ष भन्दा ६ अर्ब ८१ करोड रुपैयाँले बृद्धि भएको छ । बैंकको खुद मुनाफामा अघिल्लो बर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ । बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।


क्लिकमान्डु