लगानीबारे भारतीय उद्योगी रतन टाटाको भिडियो नक्कली, यसरी भए डिपफेकको शिकार
एजेन्सी । टाटा ग्रुपका पूर्वअध्यक्ष तथा भारतीय उद्योगी रतन टाटाले लगानीबारे सुझाव दिएको भन्दै प्रचार गरिएको भिडियो असत्य (फेक) रहेको खुलेको छ ।
सामाजिक सञ्जालमा निकै चर्चित भएको भिडियो डिपफेक प्रविधिको प्रयोग गरि बनाइएको खुलासा भएको हो । इन्स्टाग्राममा सोना अग्रवाल नामक प्रयोगकर्ताको नामबाट पोस्ट गरेसँगै चर्चामा आएको उक्त भिडियो डिपफेक प्रविधिको प्रयोगबाट बनेको खुलेको हो ।
उक्त भिडियोमा टाटाले जोखिम बिहिन रुपमा लगानी गर्ने भन्दै बोलेको देखाइएको थियो । अनलाइन बेटिंग प्लेटफर्मममा लगानी गर्न आह्वान गर्दै टाटाले लगानीबारे सुझाव दिएको भन्दै सो भिडियोलाई प्रचार गरिएको थियो ।
तर, उक्त भिडियो फेक भएको खुलेको छ । स्क्यामरले टाटाको भिडियोलाई डिपफेक प्रविधिबाट बनाएर यस्तो गरेको खुलासा भएको हो ।
पछिल्लो समय भारतमा डिपफेक प्रविधिको प्रयोगबाट बनेका यस्ता भिडियोहरु निकै चर्चामा आउने गरेका छन् । हालसालै अभिनेत्री रश्मिका मन्दनाको यस्तै भिडियो चर्चित भएको थियो, जुन डिपफेक प्रविधिबाट बनाइएको थियो ।