कोशी प्रदेशसभामा राजस्व संकलनसम्बन्धी विधेयक प्रस्तुत



विराटनगर । कोशी प्रदेशसभाको मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले ‘कोशी प्रदेश राजस्व संकलनसम्बन्धी विधेयक, २०८०’ प्रस्तुत गरेका छन् ।

बैठकले विषयगत समितिका कार्यविधि आफै बनाउनेसम्बन्धी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) को नियम १९८ बमोजिम सभामुखबाट जारी भएको बाधा अडकाउ फुकाउने आदेश सर्वसम्मतले पारित गरेको छ ।

उक्त आदेशको प्रस्तावक नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी र खगेस्वरी पौडेल समर्थक थिए ।

शून्य समय

प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशमा चार महिना पछि पारित भएको बजेटलाई समयमै सम्बन्धित निकायमा पु¥याउन माग गरे । प्रदेशसभा सदस्य गोम्बु शेर्पाले सभामुखविहीन प्रदेशसभामा सभामुख चयन गर्ने प्रक्रिया थाल्न सभाको ध्यानाकर्षण गराए भने अर्का सदस्य तिलचन पाठकले निषेधको राजनीतिक नगर्न आह्वान गरे।

प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, विदुरकुमार लिंथेप, ज्ञानेन्द्र सुवेदीले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए।

सभामा प्रदेशप्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र मन्त्रिपरिषद्को कार्यविभाजनसम्बन्धी पत्रबारे जानकारी दिएका थिए।

प्रदेशसभाको अर्को बैठक बुधबार अपराह्न १ बजे हुनेछ ।


क्लिकमान्डु