चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल र ट्रान्स नेपालबीच सम्झौता



काठमाडौं । चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टिआरएस लोजिपार्क प्रालिबीच सम्झौता भएको छ ।

सोमबार समिति र प्रालिबीच पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महशलु बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।

करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले संस्थाले न्यूनतम शुल्क लिएर स्तरीय सेवा दिइ वार्षिक १ सय ३० करोड भन्दा बढी आम्दानी गरिरहेको बताए ।

चालु आर्थिक वर्षको बजेटमा इन्टरमोडल यातायात विकास समितिको कार्यालय खारेजी गर्ने भनिए पनि कार्यालय खारेजी नहुने उनको भनाइ छ ।

उनले संस्था अझै बलियो भएर जाने र खारेजी भए पनि कुनै समस्या नपर्ने गरी व्यवस्थापन गर्नेतर्फ आफूहरुले सोचिरहेको बताए ।

चोभार सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको करीब २० महिनाको अवधिमा व्यापारीक प्रयोगमा वृद्धि भइरहेको उनले बताए ।

उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन तथा व्यवस्थापनको लागि दिँदा प्रभावकारी सञ्चालन एवं व्यवस्थापनले नेपाल सरकारलाई प्राप्त हुने राजस्वमा तुलनात्मक रुपमा वृद्धि हुने अवस्था देखिएको उनले बताए ।

चोभार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि बल्खु-दक्षिणकाली सडक खण्डको कीर्तिपुर स्थित ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको मुख्यद्वारदेखि चोभार सुक्खा बन्दरगाहसम्मको सडक चौडा गरी चार लेनको बनाउने कार्य र निजगढ–काठमाडौ द्रुतमार्गको कार्य चाँडो सम्पन्न गर्न अत्यावश्यक रहेको उनले बताए ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतिहरु रहे पनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताए । सेवा स्तरीय बनाउन आफूहरुको प्रयास रहने उनले बताए ।

समितिले गत साउन ९ गते टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनको लागि अनुमति दिएको हो ।


क्लिकमान्डु