काठमाडौंको फोहोरले ककनीमा कृषि उत्पादनमा कमी



काठमाडौं । २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए ।

१८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फोहोर फाल्न दिने सहमति दिएका स्थानीयहरु अहिले फोहोरमा पिल्सिएर बस्न बाध्य भएका छन् ।

फोहोरले घेरिएको ककनी गाउँपालिका १, सिसडोल २ ओखरपौवा र वडा ३ चाउथे क्षेत्रका मानिसहरुमा स्वास्थ्य समस्यादेखि खेतबारीमा अनाज उब्जनी समेत हुन छाडेको छ । उक्त क्षेत्रमा रहेको खेतबारी फोहोरले पुरेको र बाँकी रहेको खेतबारीममा अनाज उब्जनी हुन छाडेको स्थानीयहरुको गुनासो छ ।

सरकारले फाहोर विसर्जन गर्न सहमति दिँदा एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै अस्पताल बनाइदिएर फाहोरमा मोहोर बनाउने आशा निराशामा परिणत भएको छ । फोहोरको दुर्गन्धको कारण माटोमा अन्न र फलफूल पनि फल्न छोडेको स्थानीय किसानहरुको गुनासो छ ।

उनीहरुले अन्न उम्रे पनि फल लागेपछि पात र फललाई किराले खाने जस्ता समस्या किसानहरुले भोग्नुपरेको बताए । किसानहरुले फोहोरबाट निस्केको लिच्चड खोलामा मिसिँदा खेतबारीमा उब्जनी हुन छाडेको गुनासो गरे ।

उत्पादन भएको फलफूल तरकारी समेत फोहोरमा उत्पादन भएको भनेर कसैले किन्न नमान्ने गरेको गुनासो कृषकहरूको छ । यस क्षेत्रका किसानहरु लगाएको अन्नबाली र फलफूलहरुमा किरा र डढुवा लाग्ने गरेको बताउँछन् ।

ककनी गाउँपालिका चाउथेका स्थानीय कृषक कृष्णहरी ढुङ्गानाले बञ्चरेडाँडामा फालेको फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा १ सिसडोल र २,ओखरपौवाका साथै वडा ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा ह्रास आउन थालेको गुनासो गरे। उनले फोहोरको दुर्गन्धले किसानहरुले उत्पादन गरेको कृषिबाली र फलफूलहरुमा किरा लाग्ने गरेको उल्लेख गरे ।

कृषक ढुङ्गानाले किसानहरुले लगाएको आलु,काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा किराहरु लागेर बाली नष्ट गर्ने गरेको बताए ।

‘फोहोरको दुर्गन्धले ककनी गाउँपालिकाको वडा नम्बर १ सिसडोल र २ ओखरपौवा र वडा नम्बर ३ चाउथे क्षेत्रमा कृषि उत्पादनमा किरालाग्न थालेको छ,’ उनले भने ,’किसानहरुले लगाएको आलु,काउली, गोलभेडा र साग जस्ता तरकारी बालीहरुमा फोहोरको गन्धले विभिन्न किसिमका किराहरु लाग्न थालेको छ ।

बिरुवाहरु नै नफस्टाउने समस्या देखिएकाले यो क्षेत्रको अन्नबाली उत्पादनमा समेत धेरै ह्रास आएको उनको भनाइ छ । कागती निबुवा जस्ता अमिलो फलफूलमा समेत सेता किराहरु लाग्ने गरेको उनले जानकारी दिए ।

फोहोरको असरको कारण कृषि उत्पादनमा विनाश गर्ने मात्रै नभएर पशुपंक्षीहरुमा समेत नयाँ–नयाँ रोगहरु निस्कन थालेकाले बस्न सक्ने अवस्था नभएको भन्दै राज्यले बस्ती स्थानान्तरण गर्नुपर्ने उनको माग छ ।

उक्त क्षेत्रका अर्का कृषक विश्वनाथ बजगाईंको दुखेसो पनि उस्तै छ । कृषक बजगाईंले पनि राज्यले काठमाडौं उपत्यकाको फोहोर वैज्ञानिक व्यवस्थापन गर्न नसक्दा मानविय मात्रै नभएर कृषि उत्पादनमा समेत असर पर्न थालेको बताए ।

ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको बताए । उत्पादन भएको फलफूलहरु बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला,ज्यामिर,निबुवा,जुनारमा भित्र किरा लागेर खानै नहुने हुन थालेको भन्दै किसानहरुको महेनत समेत खेर जान लागेको उनको भनाइ छ ।

‘२२ वटा भन्दा बढी स्थानीय तहको फोहोर बञ्चरेडाँडामा अवैज्ञानिक रुपमा विसर्जन गर्दा मानविय मात्रै नभएर कृषि उत्पादनमा समेत असर परेको छ । जसमा ककनी क्षेत्रमा उत्पादन हुने फलफूल तथा कृषि उत्पादनहरुमा फोहोरको असरले सबैमा किरा लाग्न थालेको छ । बाहिरबाट हेर्दा राम्रो देखिने तर सुन्तला,ज्यामिर,निबुवा,जुनारमा भित्र किरा लागेर खानै नहुने भएको छ’ उनले भने ।

ककनी फोहोरबाट प्रभावित क्षेत्रका अर्का स्थानीय किसान शिवराम घिमिरेले फोहोरको गन्धको कारण कृषिबालीहरुमा ठूलो असर गरेकाले यस्तै रहे यो क्षेत्र उजाड बन्ने अवस्था आउने बताए ।

राज्यले काठमाडौं उपत्यकाले उब्ज्याएको फोहोरको रोग नुवाकोट ककनी बाँसीलाई दिने काममा भन्दा पनि वैज्ञानिक व्यवस्थापनको विकल्प खोज्न आवश्यक रहेको उनको भनाइ छ ।

‘फोहोरको गन्धको कारण कृषिबालीहरुमा यति ठूलो असर गरेको छ भने मानवहरुमा कति असर परेको छ भन्ने विषय मूल्याङ्कन गरेर भन्न सक्ने अवस्था छैन,’उनले भने,’त्यसैले राज्य काठमाडौं उपत्यकाले उब्ज्याएको फोहोरको रोग नुवाकोट ककनी बासीलाई दिने काममा भन्दा पनि राज्यले वैज्ञानिक व्यवस्थापनको विकल्प रोज्न आवश्यक छ ।’

काठमाडौं उपत्यकाको फाहोर सिसडोल र बञ्चरेडाँडामाजथाभावी फालिदिँदा डम्पिङ साइटनजिक मात्र नभएर ककनी गाउँपालिकाको वडा न. १, २, ३ र धुनीबेंसी नगरपालिका (धादिङ) को केही वडा बढी प्रभावित भएका छन् ।

यो क्षेत्रका मानिसहरुमा बाह्रैमास रुघाखोकी र झाडापखाला र क्यान्सर जस्ता प्राणघातक रोगको शिकार बन्न थालेका छन् । त्यसैले फोहोर व्यवस्थापन गर्ने अधिकार प्राप्त निकाय र राज्यको ध्यान वैज्ञानिक फोहोर व्यवस्थापन गरेर वा फोहोरबाट प्रभावित स्थानीयहरुकोहरुको बस्ती स्थानान्तरण गरी न्याय दिन जरुरी छ ।


क्लिकमान्डु