देशैभर इन्टरनेट पुर्याउने योजना प्राथमिकतामा : मन्त्री शर्मा
सल्यान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशभरको कुना काप्चासम्म इन्टरनेट पुरयाउने गरी काम भइरहेको बताएकी छिन् ।
नेकपा माओवादी केन्द्र बागचौर नगर समितिले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई प्रत्यक्ष सेवा प्रवाह गर्ने सरकारको महत्त्वपूर्ण निकाय वडा भएकाले वडाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै वडा केन्द्रमा इन्टरनेट विस्तारलाई प्राथमिकतामा राखेको बताए।
भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित १९ जिल्लालाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउन थालिएको जानकारी दिदै उनले यसले सल्यानसहितका छिमेकी जिल्लाको सेवामा समेत सुधार आउने बताइन।
सल्यान, दाङ, रुकुमलगायत जिल्लाका लागि जीवनरेखाको रुपमा रहेको राप्ती लोकमार्गको स्तरोन्नति र कालोपत्रे सरकारको प्राथमिकतामा रहेकाले चालु आर्थिक बर्षमा आवाश्यक बजेट विनियोजन गरिएको मन्त्री शर्माले जानकारी दिइन।
सङ्घीयताले जनताको घर नजिकमा सरकार पुर्याएको उल्लेख गर्दै उनले यसबाट जनताले शासन होइन सेवा अनुभूति गर्नुपर्ने बताइन । त्यसका लागि तिनै तहका सरकारबिच समन्वय आवश्यक रहेको उनको भनाई थियो ।
मन्त्री शर्माले सबै तहका सरकारबिच आवश्यक समन्वय नहुदा एउटै योजनामा धेरै बजेट पर्ने र कुनै योजनामा बजेट नपर्ने समस्या हल गर्ने तयारी भइरहेको बताइन । अब संघबाट पाँच करोडभन्दा कम बजेट विनियोजन नगर्ने विषयमा छलफल चलिरहेको पनि उनको भनाई थियो ।