मस्कले इजरायल र गाजामा इन्टरनेट सुविधा दिँदै
एजेन्सी । अर्बपति व्यवसायी एलन मस्कले इजरायल तथा गाजा क्षेत्रमा आफ्नो कम्पनी स्टारलिंकमार्फत इन्टरनेटको सुविधा उपलब्ध गराउने भएका छन् ।
मस्क र इजरायली सञ्चार मन्त्रालयबीच सम्झौता भएको हो । उक्त सम्झौताकाअनुसार मस्कले स्टारलिंकमार्फत इजरायल र गाजापट्टिमा इन्टरनेट सुविधा उपलब्ध गराउने भएका हुन् । इजरायलका सञ्चारमन्त्री श्लोमो करहीले सामाजिक सञ्जालमार्फत मस्कसँग भएको सम्झौताबारे जानकारी दिएका हुन् ।
करहीले भनेका छन्, ‘मेरो नेतृत्वमा सञ्चारमन्त्रालयका साथ एउटा सम्झौतामा पुगिएको छ । यो सम्झौताअनुसार स्टारलिंक स्याटलाइट युनिटलाई इजरायल र गाजा पट्टि क्षेत्रमा सञ्चालन गरिनेछ ।’
यतिबेला मस्क इजरायलमा छन् । उनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातनयाहुलाई भेटेर हमासले आक्रमण गरेका क्षेत्रहरुको भ्रमण पनि गरेका थिए ।