सर्वोत्तम सिमेन्टको ‘कट अफ प्राइस’ ४०१ रुपैयाँ, सर्वसाधारणले कतिमा पाउलान् सेयर ?
काठमाडौं । सर्वसाधारण लगानीकर्ताले सर्वोत्तम सिमेन्टको सेयर प्रतिकित्ता ३६० रुपैयाँमा आवेदन दिन पाउने भएका छन् ।
कम्पनीले पहिलो चरणमा योग्य संस्थापक सेयरधनीलाई बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गरेको थियो । योग्य संस्थापक लगानीकर्ताले पेश गरेको बोलपत्रमार्फत कम्पनीको ‘कट अफ प्राइस’ ४०१ रुपैयाँ निर्धारण भएको छ । संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको ‘कट अफ प्राइस’बाट १० प्रतिशत घटाएर सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ ।
कम्पनीको सेयरमा ४१ वटा योग्य संस्थापक लगानीकर्ताले ३६ लाख कित्ताका लागि बोलपत्र पेश गरेका थिए । कम्पनीले पहिलो चरणमा मंसिर ६ देखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ देखि ६०१ रुपैयाँ ५० पैसामा सेयर निष्कासन गरेको थियो । संस्थागत लगानीकर्ताले ३६ लाख कित्ताका लागि बोलपत्र पेश गरेका थिए ।