वैशाख ९ र १० गते लगानी सम्मेलन, अर्थमन्त्रीको नेतृत्वमा निर्देशक समिति



काठमाडौं । सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । सरकारले लगानी सम्मेलन आयोजना गर्ने निर्णय गर्दै अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन गरेको छ ।

निर्देशक समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य छन् । निर्देशक समितिको बैठकपछि अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

`यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं,´ उनले भने, `यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं । सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना छ ।´

अर्थमन्त्री महतले सरकारले दुईपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको बताए ।

मन्त्री महतको नेतृत्वमा बसेको निर्देशक समितिको बैठकले मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समितिलाई कार्ययोजना, कार्यक्रमको ढाँचा, आवश्यक विज्ञ नियुक्ति गर्ने, उपसमिति बनाउनेलगायतका विषयमा प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको छ । कार्यान्वयन समितिले ल्याउने प्रस्तावको आधारमा निर्देशक समितिले निर्णय गर्नेछ ।

यस्तै, उद्योग सचिवको नेतृत्वमा गठन भएको प्राविधिक समितिले सम्मेलनमा सो केस गर्ने परियोजनाको विषय टुंगो लगाउनेछ । सम्भावित लगानीकर्तालाई के अफर गर्ने भन्ने विषयमा जिम्मेवार हुँदै अध्ययन गर्न निर्देशक समितिले कार्यान्वयन समितिलाई निर्देशन दिएको छ ।

यस्तै, लगानी बोर्डको कार्यालयलाई सचिवालयको काम गर्न निर्देशक समितिले निर्देशन दिएको छ ।


क्लिकमान्डु