नेप्से परिसूचक २० अंकले बढ्यो, जलविद्युत र होटल समूहमा उछाल
काठमाडौं । सेयर बजार परिसूचक नेप्से बुधबार २० अंकले बढेको छ । म्युचुअल फन्डबाहेकका सबै उपसूचक उकालो लागेपछि समग्र बजार परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ अंकमा उक्लिएको छ ।
सबैभन्दा धेरै होटल तथा टुरिजम उपसमूह ३.४९ प्रतिशत र जलविद्युत २.३६ प्रतिशतले बढेको छ । मूल्य सबैभन्दा धेरै बढ्ने पाँच कम्पनीमा सबै जलविद्युत समूहका छन् ।
बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पञ्चकन्या माई, माथिल्लो मैलुङ खोला, त्रिस्टार हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेप्से उकालो लाग्दा १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको घटेको छ । बुधबार २९४ कम्पनीको १ अर्ब ८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार ९३ करोड ६० लाख रुपैयाँको कारोबार भएको थियो भने बजार २३.८२ अंकले घटेको थियो ।