धौलागिरी लघुवित्तको रोक्का रहेको सेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धौलागिरी लघुवित्त वित्तीय संस्थाको रोक्का रहेको सेयर कारोबार फुकुवा गरेको छ ।
संस्थाले घोषणा गरेको लाभांश समयमा नै नेप्सेमा जानकारी नगराएपछि नेप्सेले कात्तिक २४ गतेदेखि रोक्का राखेको थियो ।
नेप्सेले कारोबार रोक्का गरेर कम्पनीसँग स्पष्टीकरण मागेको थियो ।
कम्पनीले ‘सर्भर मेल’ मा समस्या आएका कारण समयमा नै जानकारी दिन नसकेको जवाफ दिएको थियो । कम्पनीको उक्त जवाफपछि कारोबार फुकुवा गरिएको छ । आजदेखि कम्पनीको सेयर कारोबार हुनेछ ।
कात्तिक २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । जसमा १४.२५ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ । २२ गते बोर्ड बैठकको जानकारी कम्पनीले नेप्सेलाई कात्तिक २३ गते साँझ जानकारी गराएको थियो ।