दुर्गा प्रसाईंले तीनकुनेमा कार्यक्रम राख्ने भएपछि युवा संघले जुधायो कार्यक्रम, ठाउँ फेर्ने तयारीमा अभियान
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको अभियानले जिल्ला प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र तोकेपछि कार्यक्रम गर्ने भनेको तीनकुनेमा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले मंसिर ७ को शक्ति प्रदर्शनको कार्यक्रम राखेपछि स्थान फेर्ने तयारी गरेको छ ।
दुवै पक्षले फेरि एकै ठाउँमा गर्नेगरी कार्यक्रम जुधाएको समाचारहरु सार्वजनिक भइरहदा प्रसाईं नेतृत्वको अभियान स्थान फेर्नेबारे छलफलमा जुटेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकेपछि प्रसाईं र युवा संघले तीनकुनेमा कार्यक्रमको आयोजना गर्ने कार्यक्रम गर्ने तयारी गरेका थिए ।
युवा संघका उपाध्यक्ष कृष्णहरी केसीले प्रदर्शन तीनकुनेमा हुने जनाए ।
दुर्गा प्रसाई नेतृत्वको अभियानका सह प्रवक्ता राजानन्द माण्डव्यले सरकारले माइतीघरमा प्रदर्शनमा रोक लगाएकाले तीनकुनेमा प्रदर्शन गर्ने तयारी भए पनि युवासंघले पनि त्यही कार्यक्रम गर्न लागेकोले आफूहरु छलफलमै रहेको बताए ।
‘तीनकुनेमा गर्ने भनेर हामीले तयारी गरेका थियौं । तर एमाले नेता महेशजीले पनि त्यहीँ कार्यक्रम गर्ने भन्नु भयो,’ माण्डव्यले क्लिकमान्डुसँग भने, ‘ हामी कुनै दल विशेषसँग जुध्ने लड्ने अभियानमा छैनौं । हामी व्यवस्थाविरुद्ध लड्न लागेका हौं । नेता त कोहीसँग लडिएला तर आम नागरिक कसरी लड्लान् ?’
उनले एमालेको चाहना अभियानसँग लड्ने भन्ने खालको देखिएको आरोप लगाए । ‘हाम्रो चाहना एमालेसँग लड्ने होइन । व्यक्तिसँग सिगोरी खेल्ने अभियानको चाहना होइन । एमालेको जस्तो चुल्ठे मुन्द्रे हामीसँग होलान् तर हामी रक्तपात चाहदैनौं ।’
आज दिउँसो ३ बजे आफूहरुले स्थानबारे जानकारी गराउने उनको भनाइ छ ।