तनहुँमा थपिए ६०३ नयाँ उद्योग व्यवसाय, कुल पुँजी १ अर्ब २५ करोड
तनहुँ । तनहुँमा एक वर्षको अवधिमा सवा करोड कुल पुँजीका उद्योग व्यवसाय थपिएका छन् । आर्थिक वर्ष २०७९/८० मा तनहुँमा दर्ता भएका ६०३ नयाँ उद्योगको पुँजी एक अर्ब २५ करोड ५७ लाख २९ हजार रुपैयाँ रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।
त्यसमध्ये स्थिर पुँजी ६५ करोड ९५ लाख ७९ हजार र चालु पुँजी ५९ करोड ६१ लाख रुपैयाँ रहेको कार्यालय प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए । उनका अनुसार दर्ता भएका उद्योगमा ४०५ महिला र २२३ पुरुष गरी ६२८ जनाले रोजगारी पाएका छन् । त्यस्तै ३९२ महिला र २७४ पुरुष गरी ६६६ जना उद्यमी बनेका कार्यालयले जनाएको छ ।
गत वर्ष ५० उत्पादनमूलक, ३१८ कृषि तथा वन पैदावरमा आधारित, ११९ पर्यटन उद्योग, ११० सेवामूलक उद्योग, ३ पूर्वाधार उद्योग र ३ सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएका छन् ।
यी उद्योगको वार्षिक उत्पादन क्षमता एक अर्ब २० करोड ४४ लाख १४ हजार रुपैयाँ रहेको कार्यालय प्रमुख सुवेदीले बताए । कार्यालयले उद्योग दर्ताबापत १२ लाख २७ हजार राजस्व संकलन गरेको छ ।
आव २०७८/७९ मा जिल्लामा १ हजार ४१४ तथा आव २०७७/७८ मा २ हजार १ उद्योग दर्ता भएका थिए ।