बर्खास्त गरिएका च्याट जीपीटीका निर्माता अल्टमेनलाई फर्काउन ओपन एआईको प्रयास



एजेन्सी । शुक्रबार अचानक एआई कम्पनी ओपन एआईबाट बर्खास्त गरिएका सीईओ तथा च्याटजीपीटीका निर्माता स्याम अल्टमेन पुनः कम्पनीमा फिर्ता आउनेबारे छलफल भएको छ ।

प्रविधि सम्बन्धि वेबसाईट द भर्जले जनाएअनुसार अल्टमेन कम्पनीमा पुनः सीईओकै रुपमा आउने विषयमा हाल छलफल भइरहेको छ । यो विषयका स्रोतहरुलाई उदृत गरिएको रिपोर्टकाअनुसार अल्टमेन पुनः फिर्ता आउने र कम्पनीमा विभिन्न परिवर्तन हुने सम्भावना देखिएको छ।

अल्टमेनलाई शुक्रबार अचानक ओपन एआईको सीईओ पदबाट बर्खास्त गरिएको थियो । पूर्वसूचना बिना नै उनलाई पदबाट निकालेको घटनाले प्रविधिको क्षेत्रमा चौतफी चर्चा पाएको थियो ।

शुक्रबार बर्खास्त गरिएका उनीसँग शनिबार नै कम्पनीका अन्य बोर्ड सदस्यहरुले छलफल गरेका छन् । अल्टमेन बिना ओपन एआई कम्पनीको अवस्था नाजुक बन्न सक्ने भन्ने विषयलाई लिएर कम्पनीले पुनः अल्टमेनलाई फिर्ता ल्याउन खोजेको जनाइएको छ ।

एआईको प्रविधिमा एउटा महत्वपूर्ण अनुहारका रुपमा रहेका अल्टमेन कम्पनीमा नहुनुले कम्पनीलाई घाटा हुने र अन्य प्रतिस्पर्धी कम्पनीहरुले फाइदा लिन सक्ने जानकारहरुले बताएका छन् ।

ओपन एआई कम्पनी एआईको क्षेत्रमा प्रतिनिधित्व गरिरहेको कम्पनी हो, जसले च्याटजीपीटीको निर्माण गरेको थियो । र, यसमा प्रमुख भूमिका अल्टमेनको थियो । ओपन एआईमा हाल सबैभन्दा धेरै हिस्सा लगानी माईक्रोसफ्टको रहेको छ ।


क्लिकमान्डु