आधा महिना बिदा भएको कात्तिकमा उठ्यो गत वर्षभन्दा डेढ अर्ब बढी राजस्व



काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनामा ३० अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
दसैं र तिहारले गर्दा १४ दिन सार्वजनिक बिदा भएको कात्तिक महिनामा विभागले गत वर्षभन्दा १ अर्ब ५२ करोड रुपैयाँ बढी राजस्व उठाएको हो ।

बैंक वित्तीय संस्थाले बढाएको ब्याजदरले ब्याज आम्दानीमा वृद्धि हुँदा सरकारको राजस्व बढेको हो ।

ब्याज कर शीर्षकमा ५ अर्ब ९३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा ६ अर्ब ४५ करोड रुपैयाँ संकलन भएपछि कात्तिक महिनामा गत वर्षभन्दा बढी राजस्व संकलन हुन सकेको हो ।

गत वर्ष कात्तिकमा विभागले २९ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कात्तिकमा गत वर्षभन्दा बढी राजस्व उठाए पनि विभागले आफैंले तोकेको लक्ष्यअनुसार भने राजस्व उठाउन सकेन ।कात्तिकमा विभागले ३८ अर्ब १ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।

तर, विभागले लक्ष्यभन्दा १९.१७ प्रतिशत कम राजस्व उठाएको हो । कात्तिकमा विभागले आयकर शीर्षकमा ८ अर्ब ३१ करोड रुपैयाँ, आन्तरिक मूल्य अभिवृद्धि कर शीर्षकमा ७ अर्ब ८० करोड रुपैयाँ, आन्तरिक अन्त:शुल्क शीर्षकमा ७ अर्ब २८ करोड रुपैयाँ संकलन गरेको छ ।

विभागले कात्तिक मसान्तसम्म पनि लक्ष्यअनुसार राजस्व उठाउन नसकेको हो । कात्तिक मसान्तसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको विभागले १ खर्ब २६ अर्ब रुपैयाँ मात्र राजस्व उठाएको छ । जुन लक्ष्यको ८०.६६ प्रतिशत हो ।

गत वर्ष कात्तिक मसान्तसम्म १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । कात्तिक मसान्तसम्म पनि गत वर्षभन्दा १ अर्ब ८० करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

कात्तिक मसान्तसम्म विभागले आयकर बापत ४३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठाएको छ । जुन लक्ष्यको ९४.६९ प्रतिशत हो ।
मूल्य अभिवृद्धि कर शीर्षकमा ३३ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको ७४.६६ प्रतिशत हो ।

यस्तै, अन्त:शुल्क शीर्षकमा २९ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ६८.८७ प्रतिशत हो ।


क्लिकमान्डु