टिकटक, फेसबुकलगायतका डिजिटल सेवाप्रदायकले ४ महिनामा तिरे १२ करोड कर



काठमाडौं । टिकटक, फेसबुकलगायतका १० डिजिटल सेवाप्रदायक कम्पनीले चार महिनामा १२ करोड रुपैयाँभन्दा बढी कर तिरेका छन् ।

विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि २०७९ अन्तर्गत दर्ता भएका विदेशी कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि कात्तिक मसान्तसम्ममा १२ करोडभन्दा बढी कर तिरेको ठूला करदाता कार्यालयले जनाएको छ ।

प्रमुख कर प्रशासक जनक शर्माका अनुसार इन्टरनेटमार्फत सेवा दिने टिकटक, फेसबुक, ट्विटर, गुगल, लिङ्क्ड इनलगायत १० डिजिटल सेवाप्रदायकले नेपालमा दर्ता भएका व्यवसाय गरिरहेका छन् ।

नेपालमा यी कम्पनीले भ्याट र डिजिटल सर्भिस ट्याक्स तिर्नुपर्छ । टिकटक भदौदेखि ठूला करदाता कार्यालयमा दर्ता भएको उनले जानकारी दिए ।

कार्यविधिअनुसार नेपाली उपभोक्तालाई इन्टरनेटमार्फत सेवा दिएबापत कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । जसले विज्ञापन सेवा, चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओटीटी) र सदस्यतामा आधारित यस्तै अन्य सेवा, क्लाउड सेवा, गेमिङ सेवा र मोबाइल एप्लिकेसनसम्बन्धी सेवा दिने विदेशी कम्पनीले नेपालमा दर्ता भएर सेवा दिनुपर्ने व्यवस्था छ ।


क्लिकमान्डु