एआईले दक्षिण कोरियामा ४० लाख रोजगारी धरापमा पर्ने, डाक्टर, वकिल र एकाउन्टेन्ट बढी जोखिममा



एजेन्सी । आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) ले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैंकको एक अध्ययनमा उल्लेख छ ।

बैंक अफ कोरियाको अध्ययनमा उल्लेख भएअनुसार एआईका कारण दुई दशकभित्र ४० लाख रोजगारी र १४ प्रतिशत कार्यक्षेत्र प्रभावित हुनेछ ।

अध्ययनअनुसार घरेलु स्तरमा एआईलाई अपनाउनेहरू बढिरहेकाले दक्षिण कोरियामा करिब ४० लाख रोजगारी खतरामा रहेको जनाइएको छ । एआईबाट चिकित्सक, वकिल, एकाउन्टेन्ट तथा रसायनशास्त्रीहरू सबैभन्दा धेरै जोखिममा पर्नेछन् ।

‘उच्च शैक्षिक पृष्ठभूमि र उच्च आम्दानी भएकाहरुले एआईको ठूलो जोखिमको सामना गर्नुपर्नेछ र उनीहरूलाई एआईले प्रतिस्थापन गर्ने ठूलो जोखिम छ,’ अध्ययनमा भनिएको छ ।

एआईले सेतो पोसाकधारी (चिकित्सक) को विश्लेषणात्मक र बौद्धिक कार्यलाई सजिलै पूरा गर्न सक्ने भएकाले यस्ता नोकरी सबैभन्दा ठूलो जोखिममा पर्ने अध्ययनमा उल्लेख छ ।

अध्ययनअनुसार एआईका कारण जागिर गुमाउने सबैभन्दा कम सम्भावना भएका व्यक्तिहरु धार्मिक, खाद्य सेवा र शिक्षण क्षेत्रका हुनेछन् ।

बैंक अफ कोरियाको अध्ययनमा भनिएको छ, ‘एआई विद्यमान रोजगारीका लागि खतरा हो तर यसले एआई प्रणाली विकसित गर्ने इन्जिनियर र एआईसँग सम्बन्धित स्टार्टअपहरूमा नयाँ-नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्छ ।’

तीव्र रूपमा अगाडि बढिरहेको एआईले रोजगारी गुमाउने र साइबार हमलादेखि लिएर मानिसले डिजाइन गरेका प्रणालीमा नियन्त्रण गुमाउनेसम्मका सबै कुरामा वैश्विक चिन्ता उत्पन्न गरिदिएको छ ।


क्लिकमान्डु