विष्णु पौडेल भन्छन्: अर्थतन्त्रका विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकै फरक कुरा, अर्थमन्त्री र गभर्नरको जुहारी



काठमाडौं । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बारेमा सकारात्मक कुरा गर्दैमा तथ्य नलुक्ने बताएका छन् । मन्तव्य राम्रो बनाउनभन्दा अर्थतन्त्र राम्रो बनाउन उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई सुझाव दिए ।

‘अर्थतन्त्रका विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकै फरक-फरक कुरा आउने गरेका छन्,’ उनले भने, ‘प्रधानमन्त्री नेपालमा अर्थतन्त्र समस्या छ भन्ने, अर्थमन्त्री बेलायत पुगेर राम्रो छ भन्ने, कसको कुरा पत्याउनु ?’

प्रधानमन्त्री समस्याग्रस्त भएको अर्थतन्त्र सुधार गर्न तिहारपछि गोलमेच सम्मेलन गर्छु भन्दै हिँडेको भन्दै उनले मन्त्री र प्रधानमन्त्रीबीच भेट नभएको जस्तो लागेको बताए । ‘भेट नभएको हो भने मन्त्री र प्रधानमन्त्री भेट्न अर्थ समितिले सिफारिस गरेर पठाउँछ,’ उनले व्यंग्य गरे ।

प्रधानमन्त्री गोलमेच सम्मेलन गर्छु भन्दै हिँड्ने गरेको र अर्थमन्त्री लगानी सम्मेलन गर्छु भन्दै हिँड्ने गरेको पूर्वअर्थमन्त्री पौडेलले बताए ।

विद्युतीय सवारीका कारण राजस्व घट्यो भनेर सरकारले पार नपाउने उनले बताए । आगामी दिनमा विद्युतीय गाडीको आयात बढाउने नीति लिन उनले सुझाव दिए ।

कात्तिकमा ठेक्का लगाउने भने पनि बजेट र नीति फरक-फरक भएको पौडेलले बताए । दसैंअघि नै निर्माण सकेका आयोजनालाई मन्त्रीले नै भुक्तानी दिने भने पनि अहिलेसम्म पैसा नपाएको उनले बताए । ‘मन्त्रीले भनेको कुरा पूरा हुँदैन भने कसको कुरा पत्याउने ?’ उनले प्रश्न गरे ।

अहिले विदेशी लगानी र अनुदान घट्दै गएको तथा सहुलियतपूर्ण कर्जा पनि घट्दै गएको उनले दाबी गरे । ‘अर्थमन्त्रीले राष्ट्र बैंकलाई माइक्रोम्यानेजमेन्ट गर्नु हुँदैन भन्ने गर्नुभएको छ, मौद्रिक नीतिले समस्या भयो भन्दै हिँड्नुभएको छ, के मन्त्री र गभर्नरका बीचमा समन्वय हुँदैन ? त्यसो हो भने देशको अर्थतन्त्र कता जाँदैछ ?’ उनले प्रश्न गरे ।

अर्थमन्त्री र गभर्नरको जुहारी सुन्न आफू जनप्रतिनिधि नभएको एमाले सांसदसमेत रहेका पौडेलले बताए । ‘गभर्नर र अर्थमन्त्रीको जुहारीले निजी क्षेत्रसमेत हैरान भएको छ, दुवै जनालाई बन्द कोठामा बसेर समस्याको समाधान गर्ने र सबैमाझ एउटै एजेन्डा लिएर हिँड्न मेरो सुझाव छ,’ उनले भने ।


क्लिकमान्डु