रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, असोजमा भित्रियो करिब डेढ खर्ब रुपैयाँ



काठमाडौं । दशैंको माहोलले गर्दा असोजमा हालसम्मकै उच्च रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा करिब डेढ खर्ब रेमिट्यान्स भित्रिएको जनाएको छ ।

असोजमा दशैंलक्षित रेमिट्यान्स भित्रिएको देखिन्छ । उक्त महिना १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ आप्रवाह भएको छ । जुन हालसम्मकै उच्च हो ।

राष्ट्र बैंकअनुसार गत साउनमा १ खर्ब १६ अर्ब २ करोड विप्रेषण आप्रवाह भएको थियो । उक्त रकम हालसम्मकै उच्च हो । तर, भदौ महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ मात्रै रेमिट्यान्स आप्रवाह भएको थियो ।

त्यस्तै, तीन महिनामा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई ३ खर्ब ६५ अर्ब ३४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु