संघीय पर्यटन ऐनका लागि परिसंघले दियो पर्यटनमन्त्रीलाई यस्तो सुझाव



काठमाडौं । नेपाल उद्योग परिसंघले संघीय पर्यटन ऐनका लागि सुझाव पेस गरेको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाह नेतृत्वको टोलीले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई सुझाव पेस गरेको हो ।

उपाध्यक्ष शाहले परिसंघको पर्यटन समितिको संयोजनमा पर्यटनसँग सम्बन्धित संघसंस्थाको समेत सुझाव लिई मन्त्री किराँतीलाई बुझाएको बताए । सुझाव मन्त्री किराँतीकै आग्रहमा तयार पारिएको परिसंघले जनाएको छ ।

परिसंघको पर्यटन समितिको समन्वयमा होटल संघ नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), टे्रकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), प्यासेफिक एसिया ट्राभल एसोसिएसन (पाटा), नेपाल माउन्टेरिङ एसोसिएसन (एनएमए), स्कुल इन्टरनेसनल नेपाल (एसकेएल), रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो), नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स (नारा), टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान), नेपाल टुरिष्ट भेइकल एसोसिएसन, विश्व पर्यटन सञ्जाल नेपाल च्याप्टरलगायतबाट संकलित सुझाव मन्त्री किराँतीलाई बुझाइएको छ ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक विकासका लागि पर्यटन एक महत्वपूणर् क्षेत्र रहेको र यसका सम्भाव्यता उजागर गर्दै लाभ लिन अब बन्ने संघीय पर्यटन ऐन सहयोगी हुने बताए ।

परिसंघका महानिर्देशक दीपकराज जोशीले विश्वका दुई ठुला अर्थतन्त्र भएका भारत र चीनको बीचमा अवस्थित नेपालको भौगोलिक संरचनाले राष्ट्रिय अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने प्रचुर सम्भावना भएको बताए ।

परिसंघले संघीय पर्यटन ऐन कस्तो हुनुपर्छ भन्ने विषयमा १० वटा विषयलाई आधार बनाएर यसको संरचना, ऐनले लिनुपर्ने उद्देश्य तथा ऐनको प्रस्तावनामा समेत सुझाव दिएको छ । संघीय पर्यटन ऐनले पर्यटन क्षेत्रलाई बृहत्त रुपमा समेटेर यसको क्षेत्र एवं दायरा निश्चित गर्न पर्यटकीय गतिविधि, सेवा, व्यवसाय तथा गन्तव्यस्थलको परिभाषाका लागि समेत सुझाव दिएको छ ।

परिसंघको सुझाव ग्रहण गर्दै मन्त्री किराँतीले संघीय पर्यटन ऐन ल्याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताए ।


क्लिकमान्डु