८०४ ओटा आईफोन १५ बन्द, आफ्नो मोबाइल दर्ता भए/नभएको यसरी गर्नुस् जाँच



काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा आएसँगै प्रणालीमा दर्ता नभएका १ लाख रुपैयाँ भन्दा बढीका मोबाइल बन्द भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएसमा दर्ता नभएका आईफोन १५ सिरिज फोन लक गर्दै एमडीएमएस लागू गरेको हो । प्राधिकरणका अनुसार एमडीएमएसमा दर्ता नभएका ८०४ ओटा आईफोन १५ सिरिजका फोनमा सोमबार राति ९ बजेदेखि दूरसञ्चार सेवा बन्द भएको छ ।

प्राधिकरणले आईफोन १५ सिरिज अन्तर्गत करिब एक हजार मोबाइलमा एमडीएमएसमा दर्ता हुन १५ दिनअघि एसएमएस पठाएको थियो । तर त्यसमध्ये ८०४ डिभाइस एमडीएमएस प्रणालीमा दर्ता नभएकोले बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

यसरी बन्द गरिएका मोबाइलमा नेपाल टेलिकम र एनसेलसहितका नेपाली नेटवर्कका सिम चल्ने छैन । तर मोबाइलमा एप र वाइफाइ भने चल्ने छ । प्राधिकरणले दैनिक रुपमा १ लाख रुपैयाँभन्दा महँगा फोनहरु बन्द गर्दै जाने जनाएको छ ।

प्राधिकरणले एमडीएमएसमा दर्ता नगरी प्रयोगमा आएका फोनमा १५ दिनको म्याद राखि तोकिएको दस्तुरसहित दर्ता गर्न एसएमएसमार्फत आग्रह गर्नेछ । सो अवधिमा दर्ता नहुने डिभाइस नियामनुसार ब्लक हुनेछन् ।

एक लाख रुपैयाँभन्दा बढी मूल्यका लागि प्रति फोनसेट १० हजार रुपैयाँ र अन्य स्मार्टफोनका लागि प्रति फोनसेट तीन हजार रुपैयाँ तथा साधारण मोबाइलका लागि प्रतिसेट २०० रुपैयाँ राजस्व तिरेर एमडीएमएसमा दर्ता गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट एमडीएमएस लागु गरेको हो । अवैध तथा गैरकानुनी रुपमा मोबाइल फोनहरु नभित्रिउन् र कानुनी बाटोबाट नै मोबाइलहरुको आयात तथा खरिद बिक्री गराउने लक्ष्यसहित एमडीएमएस प्रणाली नेपालमा कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले कात्तिक १९ गतेसम्मको समयसिमा तोक्दै एमडीएमएस प्रणालीमा फोनहरु दर्ता गर्न भनेको थियो ।

प्रयोगकर्ताले आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ/छैन भनेर हेर्नका लागि भने एमडीएमएस प्रणालीको आधिकारिक वेबसाईटमा फोनको आईएमईआई नम्बर राखेर हेर्न सक्नेछन् ।

आफ्नो फोन एमडीएमएसमा दर्ता भएको छ/छैन भन्ने एमडीएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np मा गएर हेर्न सकिन्छ । यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ ।

अथवा मोबाइल नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ ।


क्लिकमान्डु