निर्माणकार्य सुस्त हुँदा पनि भगवती स्टिलले एकै वर्ष गर्‍यो साढे ३ अर्बको व्यापार



काठमाडौं । आर्थिक संकुचनका कारण निर्माणकार्य सुस्त हुँदा पनि भगवती स्टिल इन्डष्ट्रीले एकै वर्ष साढे ३ अर्ब बढीको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ८३ करोड ५० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको व्यापार ९५ प्रतिशतले बढेको छ । इन्डष्ट्रीले सन् २०२१ मा ३ अर्ब २२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२२ मा ३.८८ प्रतिशत खुद नाफा कमाएको कम्पनीले सन् २०२३ मा ७.४९ प्रतिशत खुद नाफा कमाएको छ ।

कम्पनीकाअनुसार सन् २०२३ को अक्टोबरसम्ममा ३ अर्ब १५ करोड २० लाख रुपैयाँको व्यापार भइसकेको छ । उक्त व्यापार हेर्दा चालु आर्थिक वर्षसम्ममा व्यापार उच्च हुने देखिएको छ ।

सन् १९९१ मा दर्ता भएको कम्पनीले पाइप, सिट्स, ढोका र झ्यालको फ्रेम, सटर प्रोफाइल, साइड च्यानल, ट्रस, पोल र टावर, सस्पेनसन र मोटोरेबल ब्रिज र सो सम्बन्धि विभिन्न सामग्री उत्पादन गर्दै आएको छ ।

कम्पनीले वार्षिक ८५ हजार ५ सय मेट्रिक टन स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले ‘बीएसटी’ ब्राण्डमा उत्पादित सामग्री बिक्री वितरण गर्दै आएको छ ।

सुमितकुमार अग्रवाल अध्यक्ष रहेको कम्पनीले ३ अर्ब ५ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २४ करोड ८७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ८० करोड ८९ लाख रुपैयाँको अर्थात् एथ्री रेटिङ पाएको छ ।

कम्पनीअनुसार सन् २०२३ मा व्यापार गरेकोमध्ये ८३ प्रतिशत कच्चा पदार्थको हिस्सा छ । कम्पनीले विशेषगरी भारतबाट कच्चा पदार्थ आयात गरी आवश्यक सामग्री उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु