देउराली बहुउद्देश्यीय सहकारीका व्यवस्थापक र ऋण समिति सदस्य पक्राउ



काठमाडौं । बचतकर्ता ठग्ने देउराली बहुउद्देश्यीय सहकारी संस्थाका थप दुई जना व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संस्थाका व्यवस्थापक (व्यवस्थापक) दीपक केसी र ऋण समितिका सदस्य राजेन्द्र खत्री पक्राउ परेका छन् ।

ब्यूरोका प्रवक्ता नवराज अधिकारीका अनुसार केसी र खत्रीलाई तीन दिन अघि ललितपुरबाट पक्राउ गरिएको हो ।

बचतकर्ताको रकम ठग्ने संस्थाका अध्यक्ष रविन्द्र चौलागाईलाई ब्यूरोले असोज १६ गते पक्राउ गरेर संगठित अपराध कसुरमा अनुसन्धान गरिरहेको छ ।

सहकारीका बचतकर्तालाई आकर्षक ब्याज दिन्छु भनेर प्रलोभनमा पारेर, मासिक, त्रैमासिक र बार्षिक रुपमा ब्याज दिने भनेर निक्षेपकर्ता ठगेपछि चौलागाई पक्राउ परेका हुन् ।

उनले बचतकर्ताको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ ठगेको जाहेरी परेको सीआईबीले जनाएको छ । अझै पनि बचतकर्ताको जाहेरी आउनेक्रम जारी रहेको ब्यूरोले जनाएको छ ।


क्लिकमान्डु