नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न बेलायतसँग अर्थमन्त्री महतको आग्रह



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरीमन्त्री बारोनेस पेनबीच भेटवार्ता भएको छ ।

लन्डनमा सोमबार भएको भेटमा अर्थमन्त्री महतले बेलायतका तर्फबाट नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न आग्रह गरेका छन् । उनले बेलायत नेपालको एक प्रमुख विकासको साझेदार देश रहेको स्मरण गर्दै हरित ऊर्जामा दीर्घकालीन वित्तीय स्रोत उपलब्ध गराउन आग्रह गरे ।

त्यसैगरी उनले बेलायतको तर्फबाट जलवायु परिवर्तन न्यूनीकरणका लागि गरिँदै आएको लगानी नेपालमा थप वृद्धि गर्न पनि अनुरोध गरेको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

ट्रेजरीमन्त्री पेनले नेपालको आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको र यसलाई निरन्तरता दिने बताए । उनले ‘ग्रिन फाइनान्स’मा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै बेलायतको निजी क्षेत्रलाई नेपालको हरित ऊर्जाको क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गर्ने आश्वासन दिए । भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र नियोग उपप्रमुख रोशन खनालको पनि सहभागिता थियो ।

 लन्डनस्थित नेपाली दूतावासले गर्न लागेको लगानीसम्बन्धी उच्चस्तरीय सम्मेलनमा भाग लिन लन्डन पुगेका मन्त्री महत नेपाली दूतावासको आयोजना र डोल्मा फाउन्डेसनको सहकार्यमा सोमबार ‘नेपालको नवीकरणीय ऊर्जाको विकासमा दीर्घकालीन वित्तीय विकल्प’ विषयक अन्तर्क्रियामा सहभागी भएका थिए ।

कार्यक्रममा महतले नेपाल सरकारले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गर्ने तथा वैदेशिक लगानीकर्ताले लाभांश फिर्ता लैजाने प्रक्रियालाई सरल बनाउनेतर्फ नेपाल सरकार लागिपरेको जानकारी गराए । उनले लगानीको वातावरण सुधार गर्न देशको कन्ट्री क्रेटिड रेटिङको प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिए ।

डोल्मा फाउन्डेसनका टिम गोचर र जापनिज बैंक एमयूएफजीका क्रिस्टोफर मार्कसले कर्पोरेट ग्रिन बन्डको बारेमा आफ्नो धारणा राखे ।

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकका आदिल अन्सारीले सोभरियन बन्ड र नवनिर्वाचित लर्ड मेयर प्रो माइकल मेनिलीले पोलिसी पर्फमेन्स बन्डका बारेमा धारणा राखेका थिए । राजदूत आचार्यले लगानीका लागि नेपाल उर्वरभूमि रहेकाले लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न आग्रह गरे ।


क्लिकमान्डु