सार्वजनिक ऋण साढे २३ खर्ब नाघ्यो, प्रत्येक नेपालीको थाप्लोमा ८० हजारको भार
काठमाडौं । सरकारले लिएको सार्वजनिक ऋण साढे २३ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार नेपालको सार्वजनिक ऋणभार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ खर्ब ५४ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ । यसमा आन्तरिक ऋण बाह्य ऋणभन्दा बढी छ । आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब छ भने बाह्य ऋण ११ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ ।
तथ्यांक अनुसार सरकारले लिएको यस्तो ऋणलाई नेपालको २०७८ को जनगणनाको संख्यासँग हिसाव गर्ने हो भने प्रति व्यक्ति ऋणभार ८० हजार ७ सय ३४ रुपैयाँ हुन आउँछ ।
हाल नेपालको जनसंख्या करिब ३ करोड पुगेको छ । यो जनसंख्यालाई आधार मान्ने हो भने पनि नेपालीमाथिको ऋणभार ७८ हजार रुपैयाँभन्दा बढी पुगिसकेको देखिन्छ ।
सरकारले लिने ऋण स्वदेशभित्रै हुने निर्माण हुने पुँजीबाट चुक्ता गर्दै जानुपर्छ । सरकारले जनताबाट उठाउने करबाट ऋणको दायित्व भुक्तानी गर्ने भएकोले पनि नेपालीमाथि ऋणको भार बढेको तर्क गर्ने गरिएको छ ।
सरकारले विकास निर्माणका लागि लिने ऋण, विभिन्न आयोजनामा तथा कर्मचारी प्रशासन सुधारदेखि संगठन सुधारको लागि समेत लिने गरेको छ ।
सरकारले लिन थालेको ऋणमा वाह्यभन्दा आन्तरिक ऋणको दर बढ्दै गएको छ । यस्तो ऋण लिएवापत सरकारले पछिल्लो ३ महिनामा मात्रै ५६ अर्ब ५५ करोड आन्तरिक ऋण र १ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँ बाह्य ऋण भुक्तानी गरिसकेको छ ।