गैरआवासीय नेपाली संघ तीन टुक्रा !
विनोद कुँवर, बद्री केसी तथा आरके शर्मा नेतृत्वका तीन एनआरएनए
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ ।
बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा गरिएको हो । यो समिति नै आधिकारिक भएको बताइएको छ ।
कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्तान र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला उपाध्यक्षमा रोजिना प्रधान र युवा उपाध्यक्षमा अब्दुल वासिद रहेका छन् ।
महासचिवमा बुद्धी सागर सुवेदी छन् भने उपमहासचिवमा सोम सापकोटा र प्रमोद सिटौला छन् । त्यस्तै, सचिवमा लोकप्रसाद दाहाल, कृष्ण जीवी पन्त, टंक गैरे, दयानिधि सापकोटा, राम पोखरेल र केपी सिटौला छन् ।
कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना रहेका छन् भने सह कोषाध्यक्षमा तिलक गैरे, मोहम्मद मुसलमान, सीपी पौडेल र कृष्ण तिम्सिना छन् ।
यसैगरी महिला सचिवमा विमला सापकोटा, महिला सह कोषाध्यक्षमा तृष्णा शर्मा काफ्ले, युवा संयोजकमा रविन अधिकारी तथा महिला संयोजकमा देवीका केसी गुरुङ रहेका छन् ।शनिबार साँझ ललितपुरमा पत्रकार सम्मेलन गर्दै ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा असन्तुष्ट जनाउँदै अध्यक्ष पदका प्रत्याशी शर्मा र महेशकुमार श्रेष्ठ लगायतले धाँधलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसक्ने बताएका थिए ।
शनिबार हतार हतार शपथग्रहण गर्नुले धाँधली भएको पुष्टि हुने उनीहरूको आरोप छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार शर्माले आइटी विज्ञ राखेर निर्णय गरौँला भनेर गरेका सहमति तोड्नुले नै धाँधली भएको स्पष्ट हुने बताए । उनले धाँधली नभएको भए रातारात शपथ खानुपर्ने अवस्था नरहेको बताए । उनले गैर आवासीय नेपाली संघ निष्पक्ष, साझा र सबल हुनुपर्ने बताए । त्यस्तै महेशकुमार श्रेष्ठले सीमित समूहलाई आधिकारिकता दिन हतारमा शपथ ग्रहण गरेको आरोप लगाएका थिए ।
यस अघि पनि विवादका बीच पटक पटक परराष्ट्र अनि अदालत धाएका एनआरएनका लागी यो नौलो त होइन तर विश्वभरका प्रवासीका लागी भने एनआरएन बदनामीको अर्को नाम भएको छ ।
अघिल्लो विश्व सम्मेलनमा पूर्वअध्यक्ष शेष घलेको चाहनामा एनआरएनए विभाजित भयो । त्यतिबेला कुल आचार्य एकतातिरै लागेपछि घलेले बिनोद कुँवरको नेतृत्वमा बनाएको एनआरएनएले अहिले पनि समानान्तर गतिविधि गर्दै आएको छ ।
यसपटक भने कार्यकारी अध्यक्ष बद्री केसीको कारण एनआरएनए गम्भीर समस्यामा फसेको बताइन्छ ।
एनआरएनलाई राजनीतिक पार्टीहरुले संरक्षण गर्ने, एनआरएनएहरु पनि राजनीतिक दलहरुको ढोका चाहार्दै आशिर्वाद थाप्न मरिहत्ते गर्ने र उनीहरुकै निर्देशनअनुसारको गतिविधि गर्ने हुँदा सामाजिक उद्देश्यका साथ स्थापित गैर आवासीय नेपाली संघमा राजनीतिक गतिविधि ह्वात्तै बढेको बताइन्छ ।
त्यसमाथि चुनावी प्रक्रियामा सहभागी भएपनि एनआरएनएमा लोकतान्त्रिक प्रक्रियाको अक्षरंश पालना हुन नसक्दा बबण्डरको अवस्था मात्रै सिर्जना भएको छैन, संस्था फुटतिर गएको छ ।
पछिल्ला वर्षमा एनआरएनएको चुनावहरुमा निरन्तर विवाद हुने गरेको छ । नवौँ महाधिवेशन होटल हायातमा हुँदा विवाद र १० औँ महाविधेशन हिमालयन होटलमा हुदा पनि एनआरएनएको महाधिवेशन तोकिएको समयभन्दा ६ महिना ढिलो हुन पुग्यो ।
तत्कालीन सत्तारुढ दल (कांग्रेस–माओवादी) ले एनआरएनएमा एमालेलाई एक्ल्याउने रणनीतिअनुसार चुनावमा समस्या खडा गरेका थिए भने यसपटक एमालले बदला लिएको बताइन्छ । जसको फस्परुप अब विनोद कुँवर, बद्री केसी तथा आरके शर्मा नेतृत्वका तीन एनआरएनए बनेका छन् ।