मूलधारका अनलाइन मिडिया सञ्चालक संगठित, प्रतीक प्रधानको अध्यक्षतामा ‘डिजिटल मिडिया सोसाइटी’ गठन
काठमाडौं । मूलधारका अनलाइन मिडिया सञ्चालकहरुले ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरेका छन् । बाह्रखरी डटकमका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानको अध्यक्षतामा सोसाइटी गठन भएको हो ।
सोसाइटीको उपाध्यक्षमा सेतोपाटी डट्कमका अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर डट्कमका अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा क्लिकमान्डु डट्कमका अध्यक्ष तथा प्रबन्ध सम्पादक पुष्प दुलाल रहेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा देश सञ्चार डट्कमका अध्यक्ष रविन दाहाल, राटोपाटी डट्कमका सञ्चालक अर्जुन पन्त, शिलापत्र डट्कमका सञ्चालक सुरेश सिम्खडा, हाम्रा कुरा डट्कमका कार्यकारी निर्देशक माधवप्रसाद चम्लागाईं, विकास न्यूज डटकमका अध्यक्ष तथा प्रधान सम्पादक रामकृष्ण पौडेल, क्यापिटल नेपाल डट्कमकी सञ्चालक अनिता राजभण्डारी, नेपाल लाइभ डट्कमका अध्यक्ष अनिल न्यौपाने छन् ।
संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल खबर डट्कमका अध्यक्ष कुन्द दीक्षित तथा रातोपाटी डट्कमका संस्थापक ओम शर्मालाई डिजिटल मिडिया सोसाइटीको सल्लाहकारमा चयन गरेको छ ।
संस्थाको साधारण सदस्यमा नेपाल खबर डट्कमका सञ्चालक तथा प्रधान सम्पादक पूर्ण बस्नेत छन् ।
मूलधारको नेपाली पत्रकारितामा डिजिटल मिडियाको प्रभाव क्रमशः बढ्दै गएको सन्दर्भमा यस माध्यममा आबद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मनन गर्दै स्थापित डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर ‘डिजिटल मिडिया सोसाइटी’ गठन गरिएको अध्यक्ष प्रधानले बताए ।
२०८० असोज २९ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट गैरनाफामूलक कम्पनीका रूपमा (दर्ता नं. ३२२०८३) को प्रमाण पत्र प्राप्त गरेको संस्थाले डिजिटल पत्रकारिताको व्यावसायिक स्थायित्व, मर्यादा र गरिमा अभिवृद्धि गरी अनलाइन पत्रकारितालाई थप विश्वसनीय बनाउन सशक्त भूमिका निभाउने उद्देश्य लिएको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई सम्बद्र्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने प्रण गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका, पछिल्लो २ वर्षदेखि कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन् । सोसाइटीमा आवद्ध संस्थाका सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको र नयाँ बन्ने सदस्यहरूका लागि पनि उल्लेखित शर्तहरू अनिवार्य हुने विज्ञप्तिमा जनाइएको छ ।
विधानका शर्तहरू पूरा गर्ने संस्थाहरूलाई डिजिटल मिडिया सोसाइटीको सदस्य बन्न आवेदन खुला गरिएको र आमसञ्चार माध्यमका अन्य संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने उपाध्यक्ष ढकालले बताए ।