चार सुरुङमार्ग निर्माणको अनुमानित लागत ५३ अर्ब, चारवटाको यो वर्ष अध्ययन
काठमाडौं । सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चार वटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले घोषणा गरेकोमध्ये सुरुङमार्गमध्ये अहिले चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको जनाएको हो ।
केन्द्रले सुनसरीको धरान-लेउती सुरुङमार्ग, खुटिया-बीपी नगर-दिपायल सुरुङमार्ग, गोदावरीकुण्ड-काभ्रे मानेचौर सुरुङमार्ग र बाग्लुङ- नरेठाटी सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता सम्पन्न गरेको केन्द्रले जनाएको छ ।
केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सिडीई) दीप बाराहीले चारवटाको सम्भाव्यता अध्ययन सम्पन्न भएको बताए । उनकाअनुसार गत वर्ष दुई वटा सुरुङमार्ग, आर्थिक २०७८/७९ मा एउटा र चालु आर्थिक वर्षमा एउटा गरी चार वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो । उक्त प्रारम्भिक अध्ययनमा आयोजना निर्माणको लागि ५३ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।
‘अहिले प्रारम्भिक अध्ययनबाट चार वटा सुरुङमार्ग निर्माणका लागि ५३ अर्ब २५ करोड ७६ लाख रुपैयाँ खर्च हुने देखिएको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘उक्त अध्ययनले आयोजनाको ठ्याक्कै लागत यही हो भन्ने चाहिँ हुन्न । आगामी दिनमा प्रक्रिया अगाडि बढेमा डीपीआर र इआईएबाट आयोजनाको लागत यकिन हुनेछ ।’
उनले अहिले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्गको पहिलो चरणको प्रक्रिया पुरा गरेको बताए । केन्द्रले अध्ययन गरेको धरान-लेउती सुरुङमार्गका जोगबनी-किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले धरानदेखि लेउती खोलासम्मको सुरुङमार्ग बनाउने योजना बनाएको छ ।
सम्भाव्यता अध्ययनले सुरुङमार्गको लम्बाई ३.८७ किलोमिटर मिटर कायम हुने देखाएको छ । सरकारले सडकको दुरी कम गर्ने उद्देश्यसहित निर्माणका लागि गरेको अध्ययनबाट आयोजनाको निर्माण लागत ११ अर्ब ३८ करोड ६८ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । यदि उक्त सुरुङमार्ग निर्माण भएमा सवा घण्टाभन्दा बढी लाग्ने समय छोट्टिएर अधिकतम १० मिनेटमा सिमित हुनेछ । उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययन २०७८/७९ मा सम्पन्न भएको थियो । आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भएपनि हालसम्म अन्य कार्य भने नबढेको बाराहीले बताए ।
यस्तै, सरकारले २०७५/७६ को बजेटमार्फत घोषणा गरेको खुटिया-बीपीनगर-दिपायल खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन गत वर्ष सम्पन्न गरेको छ । घोषणा गरेको तीन वर्षमा सम्भाव्यता अध्ययन सम्पन्न गरे पनि त्यसभन्दा अगाडिको प्रक्रिया भने बढ्न सकेको छैन ।
अध्ययनमा उक्त सुरुङमार्ग ७.०१ किलोमिटरको हुनेछ । जसमा आयोजनाको निर्माणको अनुमानित लागत १३ अर्ब ४० करोड ७२ लाख रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।
गोदावरीकुण्ड-काभ्रे मानेचौर जोड्ने सुरुङमार्ग अध्ययनका लागि २०७७/७८ मा ५० लाख बजेट छुट्टाइएको थियो । उक्त छुट्टाइएको बजेटको आधारमा केन्द्रले गत वर्ष प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गरेको छ । अध्ययनअनुसार उक्त सुरुङमार्ग ३.६५ किलोमिटरको हुनेछ । साथै, सुरुङमार्गको अनुमानित लागत ७ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
केन्द्रका सीडीई बाराहीले यो वर्षको सुरुवातमा नै बागलुङ बिहुँ-नरेठाँटी सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन सकिएको बताए । उनकाअनुसार उक्त क्षेत्रमा ७.४४ किलोमिटर लम्बाईको सुरुङमार्ग बनाउनुपर्ने प्रारम्भिक अध्ययनबाट देखाएको छ । अध्ययनमा उक्त सुरुङमार्ग निर्माण गर्न २० अर्ब ४८ करोड ३५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । साथै, चालु आर्थिक वर्षमा सुरुङमार्गको अध्ययन तथा प्रक्रिया अगाडि बढाउनका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले जानकारी दिए ।
सुरुङमार्ग अध्ययनका लागि सडक विभागमार्फत क्वालिटी रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरले पाएको थियो । अहिले सडकको प्रयोगबाट दुरी धेरै लामो छ । सुरुङ बनेमा यो बाटो ७.४४ किलोमिटरमा छोटिनेछ । साथै, पश्चिम बागलुङका लागि धेरै सहज हुनेछ । चारवटाको अध्ययन सम्पन्न भएपनि बजेट अभावका कारण अन्य कार्य भने अगाडि बढ्न सकेको छैन ।
यो वर्ष चार वटा सुरुङमार्गको अध्ययन टुङ्ग्याउने
सरकारले विभिन्न समयमा घोषणा गरेको सुरुङमार्गमध्ये यो वर्ष चारवटा सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य लिएको छ । सीडीई बाराहीले सरकारले घोषणा गरेको सुरुङमार्गमध्ये चालु आर्थिक वर्षमा चार वटाको अध्ययन गरेर फाइनल रिपोर्ट पेस गर्ने बताए । उक्त हाल आयोजनाको ड्राफ्ट भने तयार भइसकेको छ ।
केन्द्रले चालु आर्थिक वर्षमा फुश्रेखोला छोरेपाटन पोखरादेखि स्याङ्जा गुडिकोला सुरुङमार्गको सम्भाव्यता अध्ययनको ड्राफ्ट रिपोर्ट केन्द्रमा तयार भइसकेको छ । उक्त ड्राफ्ट रिपोर्टलाई केन्द्रले पास गर्ने गरी कार्य गरिरहेको उनको भनाइ छ । यो सुरुङमार्ग ४.८५० किमि छ । तर, अनुमानित लागत भने हालसम्म यकिन हुन नसकेको उनले बताए । यो वर्ष उक्त सुरुङमार्गको फाइनल गर्नका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यसैगरी, केन्द्रले रारा राजमार्गको कुशे पाटन (जाजरकोट ब्याउली ढुङ्गा र जुम्ला इमिलचा खोला सुरुङमार्गको डीपीआर तयार गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । हालसम्ममा उक्त सुरुङमार्गको ड्राफ्ट रिपोर्ट पेस भएको बाराहीले बताए । सुरुङमार्ग ४ हजार ८५० मिटर दुरीको हुनेछ ।
केन्द्रले प्रबास-जोर्ते (पाल्पा) सडक सुरुङमार्गको कार्य पनि अगाडि बढाएको छ । केन्द्रअनुसार चालु आर्थिक वर्षमा सुरुङमार्गको अध्ययन अन्तिम चरणमा पुर्याउनका लागि ३० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको छ । हालसम्म आयोजनको ड्राफ्ट रिपोर्ट पेस भएको बाराहीले बताए । ड्राफ्टअनुसार आयोजना ४ हजार ८५० मिटर लामो हुनेछ ।
त्यस्तै, केन्द्रले यो वर्ष ताथली-रविओपी सुरुङमार्गका अध्ययन सम्पन्न गर्ने तयारी गरेको छ । हालसम्म उक्त आयोजनाको ड्राफ्ट रिपोर्ट पेस भइसकेको छ । सरकारले सुरुङमार्गको अध्ययनका लागि चालु आवमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सुरुङमार्ग ४ हजार ९ सय मिटर लामो हुने अनुमान गरेको छ ।
बबई-छिन्चु सुरुङमार्गको भने हालसम्म इन्सेप्सन रिपोर्ट पेस भएको केन्द्रले जनाएको छ । सुरुङमार्गको अध्ययन सम्पन्न गर्न सरकारले चालु आवमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सुरुङमार्ग ४ हजार ८५० मिटरको लम्बाई हुनेछ । केन्द्रले यसअघि नै अध्ययन गर्नका लागि कार्य अगाडि बढाएको थियो । तर, उक्त क्षेत्रमा विविध समस्या आएको थियो । अहिले भने वन मन्त्रायलबाट अध्ययनका लागि सहमति भएकाले इन्सेप्सन रिपोर्ट पशे भएको बताए ।
नयाँ सुरुङमार्गको अध्ययन गर्न १ करोड १० लाख बजेट, तीनलाई बजेट अपुग
सरकारले चालु आर्थिक वर्ष बजेमार्फत चार सुरुङमार्गको अध्ययन कार्य अगाडि बढाउन १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । केन्द्रका बाराहीले यो वर्ष चार वटा सुरुङमार्गको अध्ययनका लागि बजेट विनियोजन गरेको छ । सोहीअनुरुप केन्द्रले कार्य अगाडि बढाएको बताए ।
सरकारले चालु आर्थिक वर्षमा सम्भाव्यता अध्ययनको लागि बेसी शहर-नाल्मा बेसी सुरुङमार्गका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी, लुम्बिनी रारा पर्यटकीय राजमार्गअन्तर्गत तुलसीपुर लुहाम सुरुङ, लुम्बिनी रारा पर्यटकीय राजमार्गअन्तर्गत जाजरकोट ब्याउलीढुङ्गा-जुम्ला टोप्ला सुरुङमार्ग र पाँडिणी गाउँपालिकादेखि दुर्गा फाँटा सुरुङमार्गका लागि २०/२० लाख रुपैयाँ बजेट अध्ययनका लागि रकम विनियोजन भएको बाराहीले बताए ।
तर, तीनवटा लागि छुट्टाइएको सुरुङमार्गका लागि करिब ३०/३० लाख कम बजेट विनियोजन भएको उनले जानकारी दिए । ‘सरकारले नयाँ सुरुङमार्गको अध्ययनका लागि ४ वटाका लागि १ करोड १० लाख बजेट विनियोजन गरेको छ । त्यसमा तीन वटाको कजेट अपुग छ,’ उनले भने, ‘विनियोजन गरेकोमध्ये केहीमा बढी बजेट छ । उक्त बजेट अपुग भएको आयोजनाको अध्ययनको लागि आर्थिक वर्षको अन्त्यमा व्यवस्थापन हुनेछ ।’
सरकारले विनियोजन गरेको बजेटअनुसार केन्द्रले चार वटै सुरुङमार्गको अध्ययन सम्पन्न गर्ने योजना बनाएको छ ।
चार सुरुङमार्गको ठेक्का व्यवस्थापन हुँदै, अध्ययनका लागि ३ करोड बजेट
सरकारले घोषणा गरेकामध्ये चार वटा सुरुङमार्गको अध्ययनका लागि ठेक्का व्यवस्थापन भइरहेको केन्द्रले जनाएको छ । केन्द्रअनुसार उक्त चारवटा सुरुङमार्गको कार्य अगाडि बढाउन सरकारले चालु आर्थिक वर्ष ३ करोड बजेट विनियोजन गरेको छ ।
केन्द्रले दिएको जानकारीअनुसार मझिम्तार-शक्तिखोर सुरुङमार्गको अध्ययन कार्य अगाडि बढाउन ४५ लाख रुपैयाँ, ईलामको सुनमाई राजदुबोल सुरुङमार्ग अध्ययनका लागि ५५ लाख रुपैयाँ र हेक्जा नयाँ पुल खण्ड सडक सुरुङमार्ग र दुम्कीबास-बर्दघाटका लागि एक/एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
टोखा-छहरे सुरुङमार्गको कार्य अघि बढाउन सवा १ अर्ब बजेट सुनिश्चित
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रतिबद्धता जनाएको काठमाडौं टोखा-छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङसहितको सडक निर्माण कार्य अगाडि बढाउन चालु आर्थिक वर्षमा सवा १ अर्ब बजेट विनियोजन गरेको छ । सुरुङमार्ग निर्माण गरिदिन चीनसँग सहमत भइसकेको छ । उक्त सुरुङमार्ग चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति भएको हो ।
नेपाल सरकारले हालै मात्रै सुरुङमार्ग निर्माणमा सहयोग गर्नेबारे अर्थ मन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता गरेका छन् । सुरुङमार्ग निर्माण चीन सरकारको सहयोगमा निर्माण गर्नेछ भने आयोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) अध्ययन नेपालले गर्नेछ ।
सुरुङमार्गको निर्माणको सहमतिअनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो । टोखा-छहरे सुरुङमार्ग ७ किमिको बन्नेछ । काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ । काठमाडौंको टोखा र नुवाकोटको छहरे तथा रसुवाको बेत्रावती र स्याफ्रुवेंसीमा सडक सुरुङमार्ग निर्माण गरिनेछ ।
काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् ।
टोखा-छहरे सुरुङमार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले सरकारको प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको आयोजनाका रूपमा काम सुरु गर्न लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न ३ वटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ ।
अध्ययनमा ३.३, ३.६ र ४.२ किलोमिटर लम्बाइको हुनसक्ने देखिएको छ । यो सुरुङमार्ग सहितको सडक निर्माण भइ सञ्चालनमा आएमा मालबाहक सवारी रसुवागडीदेखि काठमाडौंसम्म दुई देखि तीन घण्टामा आइपुग्नेछ ।
सिद्धबाबा सुरुङमार्गको लागि ४५ करोड रुपैयाँ मात्रै बजेट
सडक यातायातको दूरी कम गर्न काठमाडौं-रसुवागढी सडकको छहरे खण्ड र सुरक्षित यात्रा सुनिश्चित गर्न सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको लागि चालु आर्थिक वर्षमा ४५ करोड रुपैयाँ मात्रै बजेट मात्रै विनियोजन भएको छ ।
अर्थतन्त्रमा देखिएको समस्याका कारण आयोजनाको लागि बजेट विनियोजन गर्न नसकेको भन्दै अर्थ मन्त्रालयले ४५ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ । केन्द्रले सुरुङमार्गको कार्य अगाडि बढाउन ३ अर्ब बजेटको मा गरेको थियो ।
सरकारले विस्तृत अध्ययन तथा परियोजना प्रस्ताव तयार गर्न २०७३/७४ मा पहिलो पटक बजेटमा घोषणा गरेको थियो । सुरुङमार्ग निर्माणकालागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले २०७८ मा ठेक्का सम्झौता गरेको थियो । १ हजार १२६ मिटर लम्बाइको सुरुङमार्गकालागि ७ अर्ब ३४ करोड २१ लाखमा चाइना स्टेटले सम्झौता गरेको थियो ।
हालसम्ममा सुरुङमार्गको पूर्वतयारीका मुख्य कार्यहरुमध्ये साईट क्याम्प निर्माण, झुस्सादेखि साइट वर्कशपसम्म ३३ केभीको विद्युतीय तार जाडन गर्ने कार्य र वायर हाउस निर्माण कार्य तीव्र गतिमा बढेको केन्द्रले जनाएको छ ।
त्यसैगरी, कामदारहरुका लागि आवासीय भवन निर्माण, वर्कशपमा फ्यूल स्टेशन इस्टलेशनको कार्य, सिमेन्ट सिलोस ट्याङ्क र ब्याचिङ प्लान्ट इस्टलेशनको कार्य, सुरुङ मार्गको नर्थ पोर्टल र साउथ पोर्टल नजिकैको सडक डाइभर्सनको कार्य भइरहेको छ। त्यस्तै चिडियाखोलादेखि सिद्धबाबा मन्दिरसम्म ११ केभीको विद्युतीय तार जडान गर्ने कार्य सम्पन्न भइसकेको र ल्याब इक्वीपमेन्टहरुको सेटअप, ल्याबमा भएका इक्वीपमेन्टहरुको क्यालीब्रेसन र स्लोप कटिङको कार्य भइरहेको छ ।
पाँच वर्षमा निर्माण कार्य सम्पन्न गरी पुनः निर्माणदेखि सम्पूर्ण कार्य गर्नका लागि १५ वर्षसम्म सञ्चालन गर्न पाउने सम्झौता भएकाले उक्त अवधिमा सम्पूर्ण कार्य सम्पन्न हुने केन्द्रले जनाएको छ । तर, बजेट भने न्यून विनियोजन भएको पाइन्छ ।
यातायात सहज बनाउनका ११ सय २६ मिटर सुरुङमार्गको लम्बाइसँगै उक्त क्षेत्रमा २३ सय ९८ मिटर सडकको स्तरोन्नती हुनेछ । जसमा बुटवलतर्फ ९०४ मिटर, ९ सय ४४ मिटर टनेल सेक्सन र ५ सय ५० मिटर पाल्पातर्फ सडकको स्तरोन्नती हुनेछ ।
साथै, ७ सय ८० मिटर रक सेडको लम्बाइ हुनेछ भने तीनवटा बाइसपास सुरुङ हुनेछ । जसमा १ सय ५५ मिटरको पहिलो बाइपास, १ सय ४५ मिटरको दोस्रो बाइपास र १३१ मिटरको तेस्रो बाइपास हुनेछ ।
सुरुङमार्ग निर्माणपछि उक्त बाटोमा चल्ने ठूला सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताका सवारीलाई रकसेडबाट पठाउने योजना छ । ठेलागाडा, साना टेम्पो कम लोडका गाडी रकसेडबाट पठाइने र अरू अधिकांश सवारी सुरुङबाट आवतजावत गर्नेछन् ।