नेपाल वायुसेवा निगमको एउटा वाइडबडी बन्यो अर्को थन्कियो
काठमाडौं । नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज मर्मत सकेर उडान भएकै दिन अर्को वाइडबडी थन्किएको छ । वायुसेवा निगमले आवश्यक मर्मत गरेर मंगलबारदेखि उडान गर्दै गरेको ए३३०–२०० सिरिजको ९एन एएलजेड मर्मत भएर सञ्चालनमा आएकै दिनबाट अर्को वाइडबडीको नियमित मर्मत सुरु भएको छ ।
वायुसेवा निगमका अनुसार आज (मंगलबार)बाट अर्को ए३३०–२०० सिरिजको ९एन एएलवाई चार दिनका लागि नियमित मर्मतमा जाँदै छ । उक्त जहाज काठमाडौंमा नै राखेर मर्मत हुने भएकोले एउटा वाइडबडी उडेकै दिन अर्को जहाज थन्किन पुगेको निगम स्रोतले जानकारी दिएको छ ।
निगमको अर्को दुईवटा न्यारोबडीले भने नियमित उडान गरिरहेको छ । निगमका अनुसार यस अघि संयोगबस ३ वटा जहाज मर्मतमा गएका कारण उडान तालिका मिलाउन समस्या भएको थियो । अहिले नियमित मर्मतमा जाने जहाजको कारण भने उडान तालिका प्रभावित नहुने निगमको भनाइ छ ।