सेयर कर्जाको सीमा २० करोड पुर्याउने राष्ट्र बैंकको नीतिलाई लगानीकर्ताले देखाए रातो झण्डा
काठमाडौं । सेयर धितो कर्जाको सीमा २० करोड रुपैयाँ पुर्याउने नेपाल राष्ट्र बैंकको नीतिलाई लगानीकर्ताले रातो झण्डा देखाएका छन् । राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएपछिका ३ तीनमा सेयर बजार परिसूचक ६७ अंकले घटेको हो ।
राष्ट्र बैंकले शुक्रबार यसअघि कायम रहेको सेयर धितो कर्जा व्यक्तिगततर्फ १२ करोडलाई २५ प्रतिशतले बढाएर १५ करोड र संस्थागतको ६६.६६ प्रतिशतले बढाएर २० करोड पुर्याएको थियो । त्यसयताका ३ कारोबार दिनमा सेयर बजार लगातार ओरालो लागेको हो ।
राष्ट्र बैंकले सेयर धितो कर्जामा खुकुलो नीति लिँदा पनि बजार ६७.३१ अंकले घटेको छ । आइतबार ३५.६७ अंक र सोमबार १२.५८ अंक घटेको बजार मंगलबार १९.०६ अंकले घटेको छ । नेप्से परिसूचक मंगलबार १९.०६ अंकले घट्दा नेप्से परिसूचक १८८९.५९ अंकमा ओर्लिएको छ ।
मंगलबार कारोबार खुलेदेखि घट्न थालेको बजार अन्तिम समयसम्म घटेको छ । २८२ कम्पनीको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूहको उपसूचक ९.६०, विकास बैंक ३७.३९, वित्त २३.४१, होटल ७९.६९, जलविद्युत ३६.८०, जीवन बीमा १०८.०१, माइक्रोफाइनान्स २५.०९, निर्जीबन बीमा १६९.५८ अंकले घटेको छ ।
कारोबारमा अप्पर लोहर खोला, इन्फिनिटी लघुवित्त, गुँरास लघुवित्त, इङ्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने बाराही हाइड्रोपावर, रावा इनर्जी, श्री इन्भेष्टमेन्ट फाइनान्स, स्वेत गंगा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स रहेको छ । कम्पनीको २० करोड ३७ लाख ९४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।