चोभार बन्दरगाहमा विद्युतीय सवारी साधनको जाँचपास सुरु



काठमाडौं । चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि विद्युतीय सवारी साधन आउन थालेको छ।

उक्त बन्दरगाहमा अहिले भन्सार जाँचपासका लागि विद्युतीय सवारी साधन पनि आउन लागेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । यो बन्दरगाहमा यस अघिसम्म कन्टेनर कार्गो मात्रै आइरहेको थियो ।

विद्युतीय सवारी साधन आयातकर्ताहरुले शनिबारदेखि इलेक्ट्रिक गाडीहरु समेत भन्सार जाँचपासको लागि ल्याउन थालेको समितिले जनाएको छ ।

इभी नेपाल मोटर्सले ४ वटा इलेक्ट्रिक कार कन्टेनरमा राखेर बन्दरगाहमा ल्याएको छ । ती गाडीहरु भन्सार जाँचपासको लागि वीरगञ्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो ।

२०७८ चैत्र २२ देखि सञ्चालनमा आएको यो बन्दरगाहमा सांग्रिला मोटर्स, जिओ अटोमोवाइल्सलगायत अन्य कम्पनीका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँचपास गरिसकेका छन् ।

चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आउन थालेको बताइएको छ । आगामी दिनमा अझै थप सवारी चोभार आउने जानकारी आयातकर्ताहरुले गराएको कार्यालयले जनाएको छ ।

चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि कन्टेनराइज्ड मालवस्तु तथा नयाँ सवारी साधनहरु चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि ल्याउन आयातकर्ताहरुसंग पटक पटक छलफल भएको थियो ।

चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सावरी साधन र नयाँ सवारी साधनहरुको लागि प्रबेश शुल्क निःशुल्क गर्नुका साथै पार्किङ तथा गोदाम शुल्क समेत न्यूनतम गरिएको छ । जसले गर्दा चोभार सुक्खा बन्दरगाहमा २०२ वटा कन्टेनर र ८७ (८३ वटा पेट्रोल र ४ वटा ईलेक्ट्रिक) नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको बताइएको छ ।

सुक्खा बन्दरगाहको एक्जीम क्षेत्रमा भएको दुईवटा गोदामहरु पनि आयातकर्ताहरुले सामान भण्डारणको लागि प्रयोग गर्ने गरेका छन भने आन्तरिक टर्मिनलको पार्किड्ग र गोदाम प्रयोगको लागि आउने व्यवसायीहरुको सख्या समेत बढ्दो क्रममा रहेको व्यहोरा समेत उनले बताए ।

यसका साथै, चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको लागि निजी क्षेत्रलाई दिनको लागि हाल कम्पनी छनौट प्रकृया भइरहेको र निकट भविष्यमा नै यस सुक्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई हस्तान्तरण हुने बताइएको छ ।


क्लिकमान्डु