सेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्यो नेप्से परिसूचक
काठमाडौं । सेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह देखिएन । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३५.६७ अंकले घटेको छ । परिसूचक १.८२ प्रतिशतले घटेर १९२१.२४ अंकमा झरेको छ ।
लगानीकर्ताको मनोबल बढाउन भन्दै सेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा नदेखिएको हो । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै सेयर धितो कर्जाको सीमा बढाएको थियो ।
यसअघि सेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा १५ करोड र संस्थाको हकमा २० करोड रुपैयाँ बनाइएको छ । सेयर धितो कर्जाको सीमा बढ्दा त्यसको सकारात्मक प्रभाव बजारमा देखिने अनुमान गरिएको थियो ।
आज २८९ कम्पनीको ५८ लाख १५ हजार १८९ कित्ता सेयर ५९ हजार १७१ पटक खरिद-बिक्री हुँदा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २९४ रुपैयाँबराबरको कारोबार भएको छ । आज सबै समूहका उपसूचक घटेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह २.७२ र होटल तथा पर्यटन समूह २.३५ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा १६ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य ९.५९ प्रतिशतले बढेको छ । त्यस्तै हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ६ करोड ७३ लाख ८१ हजार ५६९ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सानिमा बैंकको संस्थापक सेयर दुई लाख ५० हजार कित्ता खरिद-बिक्री भएको छ ।