विद्युत विधेयकमा एमालेको आशंका: कतैबाट प्रेरित बन्न पुग्यो की ?
काठमाडौं । नेकपा(एमाले)का सांसद गोर्कण बिष्टले सरकारले संसदमा प्रश्तुत गरेको विद्युत विधेयक कतैबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा विद्युत विधेयक २०८० माथिको छलफलमा भाग लिँदै उनले विधेयक कहीँबाट प्रेरित भएर ड्राफ्ट भएको आशंका व्यक्त गरेका हुन् । उनले विधेयकले नेपालको राष्ट्रिय हितलाई आँखा चिम्लिएको आरोप लगाए ।
‘एकातिर प्रतिष्पर्धाको कुरा गरिएको छ तर अर्कोतिर फेरि पनि सोझै सम्झौतामार्फत ५ मेघावाट विद्युत सम्मपनि दिन सकिने गरी प्रावधानपनि राखिएको छ । यसले कुनै न कुनै हिसावले प्रतिस्पर्धालाई हतोत्साही गर्ने सम्भावना देखाएको छ । यस्ता अनेकन विषयमा प्रष्टता हुन जरुरी छ । यो विधेयकमा २०६५ सालमा पनि पर्याप्त प्रावधानहरु सहित संसदमा विधेयक प्रश्तुत गरिएको थियो । त्यसपछि पनि विभिन्न महत्वपूर्ण विषयहरुलाई समेटेर संसदमा प्रश्तुत गरिएको थियो । ति यावत् विषयहरुलाई यो ऐनले आँखा चिम्लेको छ वा बेवास्ता गरेको छ । अहिले कुनै न कुनै हिसावले यो विधेयक कहिँबाट अलि ज्यादा प्रेरित बन्न पुग्यो कि ? वा हाम्रो राष्ट्रिय हितलाई यसले आँखा चिम्लिन पुग्यो कि ? वा कुनै समयमा गरिएको सम्झौता र शर्तलाई प्राथमिकतामा राखेर यो ड्राफ्ट आयो कि भन्ने मेरो आशंका छ । यद्यपी मैले आरोप लगाउन चाहँदिन । तर यो विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्ने सन्दर्भमा पर्याप्त गृहकार्य गर्नु जरुरी छ । यसतर्फ गम्भिरता साथ ध्यान जाओस् ।’
उनले विधेयकले राष्ट्रिय हितलाई प्रतिनिधित्व गर्न पर्याप्त गृहकार्यको जरुरी रहेको बताए ।