झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा १८ करोड भ्रष्टाचार
काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
बजेट दुरुपयोगको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री विजय कुमारसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सर्लाहीको लालबन्दी रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत संघीय सरकारबाट समपुरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरेको थियो ।
तर, आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।
अभियोग पत्रमा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुल उपर गर्न तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना माग गरिएको छ ।