दसैंमा घर जाने यात्रुले खाल्डा खुल्डी पार गर्नुपर्ने, सरकारसँग सडक मर्मतका लागि बजेट अभाव



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन् ।

बजेटको अभावका कारण दसैंअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ थियो । बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले दसैंलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए ।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । अब बजेटको अभाव छ । यहाँहरुलाई जानकारी छ । अब बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ’ उनले भने, ‘ प्रक्रियागत झमेलाहरु पनि छन् । तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ । दसैंअगाडि चाहीँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरुका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छौं ।’

मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दसैंअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए । काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दसैंअघि नै व्यवस्थापन गरिसक्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री ज्वालाले दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने बताए । जथाभावी भाडा लिएर यात्रुहरुलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने उनले चेतावनी दिए ।

यात्रुहरुलाई बस भाडामा ठगिन नदिने गरी तीनवटै तहको सरकारले सहकार्य गरेर अनुगमनको कामलाई सशक्त बनाउने उनको दाबी छ ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले सरकारले चाडपर्वको मुखमा आएर राजमार्ग मर्मतका लागि बजेटको अभाव छ भनेर गैरजिम्मेवार बन्न नहुने बताए ।

उनले यात्रुहरुलाई सहज हुने गरी यातायातको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

सांसद गैरेले भने, ‘दशैंको मुखमा आएर राजमार्ग मर्मतका लागि पनि बजेटको अभाव देखाउने काम सरकारले गर्नुहुन्न । बजेटको बारेमा पहिले कुरा गर्दाखेरी छ भन्ने तर अहिले आएर बजेटकै कमी छ भन्न सरकारले पाउँदैन ।’

सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वाधार विकासका लागि सरकारले पुँजी नै परिचालन गर्न नसकेको गुनासो गरे । उनले एउटै परियोजनामा अर्ब बजेट विनियोजन गर्ने तर त्यसको परिचालन नहुने कुराले मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने भएकोले यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।

‘आज अर्थतन्त्र धरापमा छ । एउटै परियोजनामा अर्ब बजेट छ । ठेक्का लगाई हाल्ने हो भने पनि एक वर्षमा त्यो बजेट चालु गर्न सक्दैन नि । एउटा परियोजनामा गएर एक अर्ब पैसा छ । अर्को परियोजनामा २० लाख छ । त्यसको टेण्डर निकाल्ने कि ननिकाल्ने ? तपाईंहरु अन्यौलतामा हुनुहुन्छ’ उनले भने ।


क्लिकमान्डु