वैज्ञानिक सम्मेलनका सहभागी काठमाडौं आइसके, पर्यटन बोर्डको खर्च कार्यविधि विवादमै



काठमाडौं । पोखरामा हुने भूगोलसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन विदेशी पाहुन काठमाडौंमा आइसक्दासमेत पर्यटन बोर्डले खर्च कार्यविधि पारित गर्न सकेको छैन ।

पर्यटन बोर्डले आगामी शुक्रबारदेखि आइतबार (१९-२२ असोजमा) पोखरामा दोस्रो इन्टरनेसनल सस्टेनेबल माउन्टेन डेभलपमेन्ट एन्ड टुरिजम कन्फ्रेन्स आयोजना गर्दै छ । सम्मेलनका लागि बोर्डले ६० लाख रुपैयाँ खर्च गर्ने गरी बजेटसमेत स्वीकृत गराइसकेको छ । उक्त सम्मेलनका लागि बोर्डले खर्च गर्न कार्यविधि बनाएको छ । तर, उक्त कार्यविधि पर्यटन बोर्ड सञ्चालक समिति पुगेर अड्किएको छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले आफ्नै संस्था हिमालयन रिसर्चको नामबाट गरेको कार्यक्रमलाई बोर्डको बजेट खर्च गर्न लागिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले नै असहयोग गरेपछि कार्यविधि स्वीकृत हुन नसकेको हो । बोर्डले पर्यटनसँग असम्बन्धित भूगोलसम्बन्धी कार्यक्रम गर्न खोजेकाले सम्मेलन विवादमा छ ।

सम्मेलनमा सहभागी हुन विदेशीहरूलाई अमेरिकी डलर १८० र विदेशी विद्यार्थीलाई १५० अमेरिकी डलर तोकिएको शुल्क दिएको विषयले पनि सम्मेलन विवादमा तानिएको छ । बोर्ड होस्ट रहेको र काठमाडौं विश्वविद्यालय आयोजक रहेको यो सम्मेलनको खर्च भने बोर्डले गर्दै छ । कार्यक्रममा सहभागी हुन विदेशी नागरिकलाई जापानमा शुल्क उठाएको र नेपालमा सम्मेलन गर्न पनि खर्च छुट्याएको विषयले पनि विवाद बढाएको छ ।

बोर्डको खर्चमा सीईओ डा. रेग्मीको निजी कम्पनी हिमालयन रिसर्च सेन्टरले अनुसन्धान गरिरहेको क्षेत्र भूगोलसम्बन्धी सम्मेलन पर्यटनसँग सम्बन्धित नभएको भन्दै विवाद भइरहेको हो । यो कार्यक्रम भूगोल र जिओडाइभर्सिटीसँग सम्बन्धित विषयमा विभिन्न सेसन राखेर आयोजना हुँदै छ ।

पर्यटन बोर्डका सीईओ रेग्मीले भने नेपालमा हुने विदेशी मेला मार्ट सबैलाई समेटेर बनाएको कार्यविधि स्वीकृति नहुँदा सम्मेलन गर्न समस्या भइरहेको बताए । उलने भने, ‘नेपालको हिमाल र हिमाली क्षेत्रसँग सम्बन्धित पर्यटनकै कार्यक्रम भएको र यसले नेपाललाई विश्व समुदायसम्म चिनाएर पर्यटन प्रवर्धन गर्छ ।’

यो कार्यक्रममा सहभागी हुन विदेशी पहुना सबै आफ्नै खर्चमा काठमाडौं आएका छन् । सम्मेलनको आधा खर्च आयोजकले व्यहोर्छ भने नेपालमा हुने खानपिन र होटलको खर्च मात्रै बोर्डले व्यहोर्ने र कार्यक्रम पर्यटन प्रवर्धनका लागि भएको पनि उनले बताए ।

रेग्मीका अनुसार सम्मेलनमा २०० पाहुन बोलाइएको भए पनि कार्यविधि स्वीकृत नहुँदा खर्च गर्न नपाइएका कारण आधाभन्दा बढीले रद्द गरिसकेका छन् । आइतबारसम्ममा ४० जना विदेशी काठमाडौं आएर आफ्नै खर्चमा बसिरहेका छन् ।

बोर्डले कार्यविधि स्वीकृत नगर्दा बजेट पारित भइसकेको रकम खर्च गर्न नसकिएको उनले बताए । पर्यटन बोर्ड सञ्चालक समितिको बैठक मंगलबार बिहान बोलाइएको छ । उक्त बैठकले नेपालमा हुने अन्तर्राष्ट्रिय मेला मार्टको कार्यविधि पारित गर्ने विश्वास सीईओ रेग्मीको छ ।


क्लिकमान्डु