अमेरिकी सिनेमा लेखक र प्रमुख फिल्म तथा टेलिभिजन स्टुडियोहरुबीच अस्थायी सम्झौता



काठमाडौं । लामो समयदेखि आन्दोलनरत अमेरिकी सिनेमा लेखक र प्रमुख फिल्म तथा टेलिभिजन स्टुडियोहरुबीच सम्झौता भएको छ । लामो समयदेखि वार्ताकै क्रममा रहेका उनीहरुबी प्रदर्शन अन्त्य गर्ने पहिलो चरणका रुपमा आइतबार अस्थायी सम्झौता भएको राइटर्स गिल्ड अफ अमेरिका (डब्लूजीए)ले जनाएको छ ।

केही महिनायता अमेरिकी चलचित्र लेखकहरुले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन् । पारिश्रमिकदेखि एआईको विषयसम्मका मुद्दा उठाएर उनीहरुले प्रदर्शन गरेका हुन् । सोही विषयमा आइतबार साँझ लेखकहरु र प्रमुख फिल्म तथा टेलिभिजन स्टुडियोहरुबीच वार्ता भएको थियो ।

‘हामीले यो सम्झौतामा मे २ देखि भइरहेका सम्पूर्ण कुरा समावेश गरेका छौं,’ राइटर्स गिल्डले भनेको छ, ‘सदस्यहरुले आफ्नो अधिकारको प्रयोग गर्ने र सँगै संघर्ष गर्ने कुरा भएको छ । यसले १४६ दिनदेखिको संघर्षलाई स्वीकार गर्छ । हाम्रो आन्दोलनकै कारण कम्पनीहरुलाई टेबलसम्म बोलाएर सम्झौता गर्ने अवस्था सिर्जना भएको हो ।’ उद्यपि, सम्झौतामा के विषय समावेश छन् भन्ने सार्वजनिक गरिएको छैन ।

पाँच महिनायता अमेरिकामा ११ हजार लेखकहरुको समूह डब्लूजीएले प्रदर्शन गरिरहेको छ । यो आन्दोलन सन् १९८८ मा भएको सोही संस्थाको आन्दोलनसरहको लामो संघर्षको स्वरुपमा परिणत भएको छ ।

डब्लूजीएले आइतबार भएको सम्झौता निकै नै गर्व गर्नलायक रहेको बताएको छ । यो सम्झौताले लेखकहरुको हरेक किसिमले अर्थपूर्ण लाभ र सुरक्षा गर्ने पनि संस्थाले जनाएको छ ।

तर, सम्झौताले लेखकहरुको आन्दोलन भने अन्त्य भएको छैन । संगठनले आधिकारिक रुपमा नभन्दासम्म आन्दोलन चलिरहने बताइएको छ । त्यतिन्जेलका लागि लेखकहरु कलाकारहरुको आन्दोलनमा सहभागी हुनसक्ने संस्थाले बताएको छ । अमेरिकामा कलाकारहरुको युनियन ‘एसएजी-एएफटीआरए’ छ, जसमा १ लाख ६० हजार कलाकार सदस्य छन्, उनीहरु पनि मध्य जुलाईदेखि आन्दोलनमा छन् ।

लेखक र कलाकारहरुको आन्दोलनका कारण हलिउडमा आर्थिक रुपमा ठूलो असर पुगेको छ । अर्थशास्त्रीहरुका अनुसार यो आन्दोलनका कारण ५ अर्ब अमेरिकी डलर (६ खर्ब ६२ अर्ब ७ करोड ४० लाख नेपाली रुपैयाँ) बराबरको क्षति भएको छ ।

रेष्टुरेन्ट र सिनेमा प्रयोग हुने प्रप्सको उद्योग तथा सेवा क्षेत्रहरु आन्दोलनका कारण प्रभावित भएका छन् । एम्पायर स्टेट डेभलपमेन्टका अनुसार आन्दोलनका कारण ११ प्रमुख प्रोडक्सन कम्पनीहरुमा १ अर्ब ३० करोड अमेरिकी डलरको नोक्सान र १७ हजार जनाको रोजगारी गुमेको छ ।


क्लिकमान्डु