दुई महिनामै होटल क्षेत्रमा सवा ४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता, कास्की र रुपन्देहीमा तारे होटल
काठमाडौं । चालु आर्थिक वर्षको २ महिनाको अवधिमा होटल क्षेत्रमा मात्रै ४ अर्ब बढी लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै देशका विभिन्न स्थानमा होटल सञ्चालन गर्न ४ अब २५ करोड १८ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।
उद्योगमा विभागमा दुई महिनाको अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताले २० वटा होटल सञ्चालन गर्ने प्रतिबद्धतासहित दर्ता गरेको छ । विभागमा दर्ता भएको अधिकांश होटल साना प्रकारका छन् । साना प्रकारका होटलमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ ।
दुई महिनाको अवधिमा ठूला लगानीका तारे होटल निर्माण होटल सञ्चालन गर्ने भन्दै स्वदेशी लगानीकर्ताले लगानी प्रतिबद्धता जनाएका छन् । त्यसबाहेक तीन वटा मध्यम र १५ वटा साना होटलमा लगानी प्रतिबद्धता जनाएको विभागले जनाएको छ ।
विभागअनुसार रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा होटल बुद्ध स्टार होटल सञ्चालन गर्नका लागि १ अर्ब ८५ करोड ४३ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । उक्त होटलमा पूर्ण स्वदेशको लगानी छ । होटलमा १२० सिटको रेष्टुरेन्ट, २ सय बेड र ५ सय सिटको ब्याङ्क्वेट हाल निर्माण गर्ने जनाएको छ । होटलबाट १०३ जनाले रोजगारी पाउनेछन् ।
त्यसैगरी, पर्यटकीय नगरी पोखरा महानगरपालिकामा १ अर्ब १६ करोड ७५ लाख रुपैयाँ लगानीमा वाटफोर्ड होटल म्यानेजमेन्ट प्रालि सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । उक्त होटलमा ९२ बेड र २ सय सिट रेष्टुरेन्टको सुविधा हुनेछ।
त्यस्तै, काठमाडौंमा १० करोड लगानीमा सिवङ्ग झि रेष्टुरेन्ट, २० करोड लगानीमा डिज बुटिक होटल र गोरखा जिल्लाको गोर्खा नगरपालिकामा २० करोड लगानीमा माइन्डफुल इसकेप्स एण्ड रिसोर्ट प्रालि सञ्चालनका लागि विभागमा दर्ता गरेको छ ।
विभागमा ८ करोड रुपैयाँमा सु लियन होटल, २/२ करोड रुपैयाँ लगानीमा होटल बोधी होम्स र वाङ्गफु हट पट चाइनिज रेष्टुरेन्ट, ४ करोड रुपैयाँमा डाङ्गफाङ्ग प्यालेस चाइना लान्झाजव लामियन नुडल्स हेझाउ फ्लेवर लिनछिया क्विसाइन र१० करोड रुपैयाँको होङ्ग डोङ्ग होटल रेष्टुरेन्ट खुल्नका लागि दर्ता गरेका छन् ।
त्यसैगरी, १० करोड रुपैयाँमा वाई लि होटल एण्ड रेष्टुरेन्ट, ४ करोड रुपैयाँमा गुड टेष्ट क्याफे, २ करोड रुपैयाँको इयुट्टेम कोरियन रेष्टुरेन्ट, ४ करोड रुपैयाँको टाङ्ग युन होटल, २ करोड रुपैयाँमा अल्मोस्ट होम, ५ करोड रुपैयाँमा रेमनाण्ट होटल, २ करोड रुपैयाँको एल बोर्कातो स्पानोल होटल एण्ड रेष्टुरेन्ट, ४ करोड रुपैयाँमा होटल संकाइ, २ करोड रुपैयाँमा गोल्डेनजिन होटल र १२ करोड रुपैयाँमा होटल पौवा विभागमा दर्ता भएको छ