दमौलीमा बन्द भएको हाटबजार पुनः सञ्चालन



सांकेतिक तस्बिर

तनहुँ । धेरै वर्ष पहिला दमौलीमा हाटबजार सञ्चालन हुन्थ्यो, जहाँ उपभोक्ताले गाउँबाट ल्याइएका कृषि सामग्री खरिद गर्न पाउँथे । यसले गर्दा किसान तथा उपभोक्ताको सीधा सम्पर्क हुन्थ्यो र किसानले उचित मूल्य पाउँथे । पछि हाटबजार लगाउने प्रचलन हरायो ।

बन्द भइसकेको हाटबजारलाई व्यास नगरपालिकाले पुनः सञ्चालन गरेको छ । संविधान दिवसको अवसर पारेर व्यास-३ मा बुधबारे हाटबजार सञ्चालन गरिएको छ । उक्त हाटबजार अब प्रत्येक बुधबार लाग्नेछ ।

किसान र उपभोक्ताबीच सीधा सम्पर्क गराएर कृषि सामग्री खरिद-बिक्री गर्ने व्यवस्था मिलाउन हाटबजार सञ्चालनमा ल्याइएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

‘दमौलीमा पहिला हाटबजार लाग्यो, विस्तारै हरायो, एकादशी बजार हराउन थाल्यो, माघे सङ्क्रान्ति मेला हराउन थाल्यो, पुराना परम्परा हराउँदै जान थाले, यसको संरक्षणमा लागेका छौँ,’ उनले भने ।

हाटबजारले किसान र उपभोक्ताबीच सीधा सम्पर्क गराएर दुवै पक्षले उचित मूल्यमा कृषि सामग्री खरिद-बिक्री गर्न पाउने अवसरको सिर्जना गर्ने न्यौपानेको भनाइ छ । किसानले गाउँबाट तरकारी ल्याएर दमौलीका विभिन्न चोक र चौतारामा बसेर बिक्री गर्दै आएकामा अब यस ठाउँमा ल्याउने प्रयत्न गरिने उनले बताए ।

नगरपालिकाले यस ठाउँमा १३ व्यापारिक कक्ष निर्माण गरेको छ । ती कक्ष किसानका लागि निःशुल्क हुनेछन् । हाटबजारको आरम्भ गर्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले युवामय हुँदै गएको नेपाल र प्रविधिमैत्री बन्दै गएको नेपालमा अबको समय अनलाइनको भएकाले यसलाई अनलाइनसँग जोड्न सक्नुपर्ने बताए । ‘यसले गर्दा किसानले सोझै मूल्य पाउन सक्नेछन्, त्यसतर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।

व्यास-५ मा ड्रागन फ्रुट खेती गर्दै आएकी कल्पना गौलीले हाटबजारले कृषि उपज सामग्री बिक्री-वितरणका लागि सहयोग पुग्ने बताइन् । तनहुँकै आँबुखैरेनी गाउँपालिकाले पहिलो पटक हाटबजार आरम्भ गरेको थियो ।

प्रत्येक शुक्रबार आँबुखैरेनी-३ मा हाटबजार सञ्चालन हुन्छ । त्यहाँ गाउँपालिकाभित्रका बासिन्दाले कृषि उपज खरिद-बिक्री गर्दै आएका छन् ।


रवि धिताल