महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सहकार्यका लागि सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक र पाँच संस्थाबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंकले स्वास्थ्य र होटल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग सहकार्य गरेको हो ।

बैंकले सूर्य जनसेवा हेल्थकेयर प्रालि, सूर्यपूरा पोलिक्लिनिक, कर्नर प्वाइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालि, ई-रिभल्भिङ इन्डियन क्विसाइन रेस्टुरेन्ट प्रालि र गंगाजमुना युनिसेक्स सलुन प्रालिसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार काठमाडौंको कोटेश्वरमा रहेको सूर्य जनसेवा हेल्थकेयरमा बैंकका सेवाग्राहीले विभिन्न सेवाअनुसार १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यस्तै रुपन्देहीको गैडहवा गाउँपालिकामा रहेको सूर्यपूरा पोलिक्लिनिकका विभिन्न सेवामा पनि सेवाग्राहीले ५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले यो पोलिक्लिनिकको ओपीडी शुल्कमा शतप्रतिशत छुट सम्झौता गरेको हो ।

बैंकका सेवाग्राहीले काठमाडौंको न्युरोडमा रहेको कर्नर प्वाइन्टमा १० तथा न्युरोडमै रहेको ई-रिभल्भिङमा १० प्रतिशत छुट पाउनेछन् ।

सुनसरीको इटहरीमा रहेको सलुनसँग बैंकले सम्झौता गरेको छ, जसअनुसार कपाल काट्नेलगायतका सबै सेवामा सलुनले १० प्रतिशत छुट उपलब्ध गराउनेछ ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाबाट वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै आएको महालक्ष्मी विकास बैंकले स्थापनाको २९ वर्ष पार गरिसकेको छ ।


रवि धिताल