काठमाडौँको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, ४ जना पक्राउ
काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेका र अहिले घटनास्थलमा प्रहरी परिचान भएको उनले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।
काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको प्रहरीले जनाएको छ ।
दोलखाका स्थायी बासिन्दा भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो । अन्दाजी ५५/५६ वर्षका कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको हो ।
त्यस्तै मोरङको बेलबारीका अन्दाजी १९/२० वर्षीय नवीन राईको पनि हत्या भएको छ । मृतक सबैको टाउको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरिएको छ
घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले थप ३ जनालाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।