नक्सापास नभएको नागरिक उड्डयन प्राधिकरणको भवन प्रधानमन्त्रीद्वारा उद्घाटन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक मूल्यांकनभन्दा ५ गुणा बढी खर्च गर्दै निर्माण गरेको विवादित भवन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन् ।

प्राधिकरणले ३ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै सिनामंगलमा निर्माण गरेको भवनको नक्सापाससमेत गरिएको छैन ।

विधिको शासन स्थापना र कानुन कार्यान्वयनमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्रधानमन्त्री दाहालले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्था उल्लंघन गर्दै शुक्रबार भवन उद्घाटन गरेका छन् ।

प्राधिकरणका केही उच्च अधिकारीले सिनामंगलमा निर्माण भएको भवन नक्सापास नभएको र लागत बढाएको विषयमा महालेखाले प्रश्न उठाएको भन्दै प्रधानमन्त्रीलाई उद्घाटन नगर्न आग्रहसमेत गरेका थिए ।

तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको प्रलोभनमा रहेको प्रधानमन्त्रीको सचिवालयले जसरी पनि भवन उद्घाटनमा जानुपर्ने दबाब दिएको थियो ।


रवि धिताल