प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे संसदलाई गराए जानकारी



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल-चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुपूर्व संसद्लाई जानकारी गराउँदै उनले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल-चीन सम्बन्धलाई थप मजबुत तुल्याउन प्रयास गर्ने बताए ।

नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नो यो तेस्रो चीन भ्रमण भएको उल्लेख गर्दै उनले कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।

‘नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।’

चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास उनले व्यक्त गरे । सङ्घीयता लागू भएपछिको दोस्रो आमनिर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा आफूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने उनले उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न भ्रमण सहयोगी हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् असोज ५ गते चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।

नेपाल र चीनबीच सदियौँदेखि सौहार्द्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको र हालैका वर्षमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको उनको भनाइ छ । चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासका प्रयासमा सहयोग गर्दै आएको उनले उल्लेख गरे ।

हाङजाउमै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको जानकारी उनले गराए । प्रधानमन्त्री दाहाल १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ । सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी दिए ।

भ्रमणका क्रममा कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम छ ।


रवि धिताल