सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढ्यो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग गठन प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले पूर्वसहमति अनुसार छानबिन आयोग गठन प्रक्रया अघि बढेको बताएका हुन् ।

‘अवैध सुन तस्करीको सम्बन्धमा सीआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अगाडि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु,’ उनले भने ।

संसदमा रहेका सात दलबीच भदौ ६ गते सुन तस्करी छानबिनबारे दुई बुँदे सहमति भएको थियो, जसमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने उल्लेख थियो ।

साउन २ गते राति सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो ७१६ ग्राम सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) अध्ययन गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ ।


रवि धिताल