अज्ञात समूहद्वारा विद्यालयमा आगजनी



सांकेतिक तस्बिर

बैतडी । अज्ञात समूहले बैतडीको एक विद्यालयमा आगजनी गरेको छ । दशरथचन्द नगरपालिका-६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।

कार्यालयको कोठामा रहेका कागजपत्र आगजनी गर्ने समूहले जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए । रातिको समयमा कार्यालयको ढोका फुटाएर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाइएको छ ।

आगजनीबाट सर्टिफिकेट, बैंकमा दाखिला गरेका भौचर, रजिस्टर, दर्ता चलानीलगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्, कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन ।

आगजनीबाट भएको क्षतिको विवरण र आगजनी गर्ने समूहको खोजीका लागि प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ । यस्तै विद्यालयनजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ । पसलबाट नौ हजार तीन सय बराबरको सामानको चोरी भएको हो ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।


रवि धिताल