त्रिवेणी श्रम सहकारीले बेसार जर्मनी पठाउने



रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा रहेको त्रिवेणी श्रम सहकारी संस्थाले रुकुम पश्चिममा उत्पादित बेसार जर्मनी पठाउने तयारी गरेको छ ।

पालिकामा प्रशोधन केन्द्र स्थापना गरेको सहकारीले जिल्लामा उत्पादित बेसार विदेश पठाउने योजना बनाएको हो । ‘हामीले उत्पादन गरेको बेसारको चाना परीक्षणका लागि जर्मनी पठाएका थियौँ । गुणस्तर राम्रो भएको भन्ने रिपोर्ट आएको छ । अब बेसारको चाना प्रशोधनको तयारीमा छौँ । यो मङ्सिरदेखि बेसार जर्मनी पठाउन सुरु गर्दैछौँ,’ सहकारीका अध्यक्ष शेरबहादुर मल्लले भने ।

सहकारीले सदस्यहरुलाई बेसारखेती गर्न भनेको छ । दुई सय सदस्यले यसपटक बेसारखेती गरेका छन् ।

गाउँपालिकामा उत्पादन भएको बेसारले मात्र माग धान्न नसक्ने उनको भनाइ छ । जिल्लाका अन्य क्षेत्रमा पनि बेसार उत्पादनका लागि किसानलाई पहिलै भनेको सहकारीले जनाएको छ । सहकारीले अदुवा र बेसार प्रशोधनका लागि उद्योग स्थापना गरेको छ ।

त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका विभिन्न ठाउँमा राम्रो अदुवा र बेसार उत्पादन हुने गर्छ । व्यापारीले जिल्लाबाटै अदुवा र बेसार खरिद गर्दै आएकोमा अब भने जिल्लामा उत्पादित अदुवा र बेसार त्रिवेणी गाउँपालिकामा रहेको अदुवा, बेसार प्रशोधन केन्द्रले खरिद गरिदिनेछ ।

प्रशोधन केन्द्रमा चाहिने भौतिक संरचना र मेसिनका लागि कर्णाली प्रदेश सरकारले सहकारी संस्थालाई एक करोड ५० लाख दिएको थियो । सहकारीले पनि उद्योग सञ्चालनका लागि ४८ हजार रकम खर्च गरेको अध्यक्ष मल्लले जानकारी दिए ।

जिल्लामा उत्पादन भएको बेसार र अदुवा विदेश पठाइने भएपछि अदुवा र बेसारले पनि राम्रो मूल्य पाउने किसानको विश्वास छ ।


रवि धिताल