पुल नहुँदा जोखिमपूर्ण रूपमा खोला तर्दै बालबालिका



सांकेतिक तस्बिर

बैतडी । पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् । सिगास गाउँपालिका–६ मा रहेको गणेश माध्यमिक विद्यालय मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन् ।

उक्त खोलामा रहेको आरसिसी पुल दुई वर्षअघि बगाएको वडा नं ६ का वडाध्यक्ष तेजबहादुर साउदले बताए । उनका अनुसार उक्त खोलामा पुल नहुँदा वडा नं ६ र ७ का बालबालिका जोखिमपूर्णरूपमा खोला तर्न बाध्य भएका हुन् ।

अस्थायी रुपमा बनाइएको काठेपुल पनि एक महिनाअघि खोलाले बगाउँदा विद्यालय जाने  बालाबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपरेको विद्यालयका शिक्षिका लक्ष्मी चन्दले बताइन् ।

विद्यालयमा बैतडीका मात्रै नभएर डोटीको आदर्श गाउँपालिकाका बालबालिका पनि अध्ययनका लागि आउने गरेका छन् ।

पुल नहुँदा समस्या भएकाबारे सम्बन्धित निकायलाई जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको स्थानीयको आरोप छ । वडाध्यक्ष साउदले न्वाघरीगाड खोलामा आरसिसी पुल निर्माणका लागि बजेट आएको भए पनि राजनीतिक अस्थिरताका कारण बन्न नसकेको बताए ।

गाउँपालिका अध्यक्ष हरिसिंह धामीले न्वाघरीगाड खोलामा पुल निर्माणका लागि पहल थालिएको बताएका छन् । ‘पुल निर्माणका लागि प्रदेश र सङ्घ सरकारलाई अनुरोध गरेका छौँ । आशा छ छिट्टै पुल निर्माण हुनेछ,’ उनले भने ।


रवि धिताल