जंगली हात्तीद्वारा कञ्चनपुरमा २० बिघा धानबाली नष्ट



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झन्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जंगली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो ।

स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जंगली हात्तीको बथानले खाएर सखाप पारेपछि चिन्तित भएका छन् । एक बिघामा लगाएको धानबाली पूरै जंगली हात्तीले सखाप पारेको उनले बताए ।

उनले बीउ, मलखाद, सिँचाइ, जोताइ र रोपाहा गरी ३० हजारभन्दा बढी खर्च गरेर धान रोपेको थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट शुक्रबार साँझ ७ बजेतिर हात्तीको बथान धानखेतमा छिरेका स्थानीय जया धामीले बताइन् । उनका अनुसार तीन दिनयता यसरी जंगली हात्ती गाउँ पस्न थालेका छन् ।

हात्तीको बथान होहल्ला गरेर, टिन बजाएर, आगो बालेर र पटाका पड्काएर पनि नभाग्ने गरेको स्थानीय बताउँछन् ।

वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार जंगली हात्तीले धानबालीमा क्षति पुर्‍याउन थालेपछि निकुञ्ज कार्यालयलाई नियन्त्रणका लागि आग्रह गरिएको छ । नगरपालिकाबाट मेसवायर जडानका लागि बजेटको व्यवस्था हुन नसक्दा प्रदेश र संघ सरकारसँग माग गरिएको वडाध्यक्ष खड्काले बताए ।

यसैबीच, आज बिहान सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र प्रदेशसभा सदस्य ओमविक्रम भाटले छुट्टाछुट्टै रूपमा धानबालीमा जंगली हात्तीले क्षति पुर्‍याएको स्थानको अवलोकन गरेका छन् ।


रवि धिताल