सेयर ब्रोकरको कमिशन घट्दै, माथिल्लो सीमा ०.३ प्रतिशतमात्रै



काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिशन घटाउने अन्तिम तयारीमा पुगेको छ ।

बोर्डले ब्रोकर कमिशन घटाउन भन्दै शुक्रबार विभिन्न सरोकारवाला नियकासँग छलफल गरेको छ । बोर्ड अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव लिएका छन् ।

बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।

अब यसअघि रहेको ०.४० प्रतिशतको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२५ प्रतिशत कायम गर्ने बोर्डको तयारी रहेको बुझिाएको छ ।

बोर्डको यो प्रस्तावलाई लगानीकर्ता भने मान्ने पक्षमा छैनन् । तर, ब्रोकर कम्पनीहरु भने ब्रोकरले लिने कमिशनमात्रै नभएर धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससीले लिने कमिशन घटाउने, ब्रोकर लगानीकर्तालाई पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन सेवा, तथा विभिन्न खालका एडभाइजरी सेवा सहजै दिनसक्ने व्यवस्था बोर्डले गरिदिएको खण्डमा प्रस्तावित कमिशत स्वीकार्न तयार देखिएका छन् ।

‘धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने हो भने, बोर्ड, नेप्से, सिडिएससीले लिने कमिशन घटाउने हो भने बोर्डले प्रस्ताव गरेको कमिशन स्वीकार्न सकिन्छ’ एक ब्रोकरले भने, ‘ब्रोकर कम्पनीको मात्रै कमिशन घटाउँदा त्यो न्याय संगत हुँदैन । सबैले पाउने कमिशन घटाउनुपर्छ। ब्रोकरको कमिशन घटाएर नियामक निकाय मोटाउने काम गर्नु भएन । त्यसो भयो भने समस्या हुन्छ, हामी मान्न तयार छैनौं।’

अहिले धेरै ब्रोकर कम्पनी कमिशनबाट मात्रै नै चल्दा नोक्सानमा रहेको ती ब्रोकरको भनाइ छ ।

‘ब्रोकरलाई पोर्टफोलियो म्यानेजमेन्ट, मार्जिन सेवा, अन्य विभिन्न खाले एडभाइजरी लगायत सेवा दिन बोर्डले बाटो खोल्नुपर्छ’ उनले भने, ‘यो मान्न बोर्ड तयार छ भने बोर्डले प्रस्ताव गरेको कमिशन कार्यान्वयन गर्न कुनै समस्या हुँदैन । ब्रोकर कमिशन घटाउने नाममा ब्रोकर बन्द हुने अवस्था आउनु भएन । ब्रोकरमा २० करोड लगानी छ । त्यसको प्रतिफल सबैले खोज्छन्, अहिले सबैको खर्च बढेको छ । ब्रोकरले धेरै कमाउनुपर्छ भनेको होइन । तर, नोक्सानमा जान दिनु हुँदैन ।’

अहिले ब्रोकरको आम्दानीको स्रोत कमिशनमात्रै भएका कारण त्यसको विकल्प सबै ब्रोकरहरुले खोजिरहेको ती ब्रोकरको भनाइ छ ।

पछिल्लो केही समय सेयर कारोबार रकम बढ्दा सेयर लगानीकर्ताहरु ब्रोकर कमिशन बढी भयो । ब्रोकरले धेरै कमाए भन्दै विरोध गरिरहेका छन् । लगानीकर्ताहरुले अहिले बोर्ड अध्यक्ष हमालललाई ५० हजारको सीमा बढाएर १ लाख रुपैयाँ पुर्याउन र हाल कायम रहेको ०.४० प्रतिशतको माथिल्लो सीमा घटाएर ०.२५ तथा हाल कायम रहेको ०.२७ प्रतिशतको तल्लो सीमा ०.१० प्रतिशतमा झार्न सुझाव दिइरहेका छन् ।

अहिले लगानीकर्ताहरु १ लाख सम्मको कारोबारमा ०.२५ प्रतिशत, १० लाख रुपैयाँसम्मको कारोबारमा ०.२० प्रतिशत, ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.१५ प्रतिशत र ५० लाख लरुपैयाँदेखि माथिको कारोबारमा ०.१० प्रतिशत ब्रोकर कमिशन लगाउन लामो समयदेखि माग गर्दै आएका छन् ।

लगानीकर्ताले गरेको माग पुरा गर्ने अवस्थामा बोर्ड छैन । स्रोतका अनुसार बोर्ड लगानीकर्ताले माग गरेजस्तो ब्रोकर कमिशन घटाएर आफैले धमाधम लाईसेन्स दिएका ब्रोकरलाई समस्यामा पार्न चाँहदैन । हाल बोर्ड, नेप्से, सिडिएससीलाई बढी कमिशन लिएको आरोप लाग्दै आएको छ । यो पटक बोर्ड अध्यक्ष हमाल बोर्ड, नेप्से, सिडिएससीले लिने कमिशन घटाएर यी क्षेत्रलाई लाग्दै आएको ‘कमिशन लिएर चलेको’ ट्यागलाई केहीहदसम्म भएपनि घटाउने तयारीमा जुटेको स्रोतको दाबी छ ।

त्यसका लागि बोर्ड अध्यक्ष हमालले नयाँ तथा पुराना ब्रोकर कम्पनीका प्रतिनिधि, सेयर लगानीकर्तासँग भेटेर सुझाव लिएरहेका छन् । सबैसँग सुझाव लिएर ब्रोकर कमिशनको माथिल्लो सिमा ०.३० प्रतिशत र तल्लो सिमालाई ०.२५ प्रतिशत कायम गर्ने तयारीमा रहेका छन् ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन लाग्दै आएको छ ।

लगानीकर्ताले तिरेको कमिशनबाट ब्रोकरलाई २० प्रतिशत र त्यसैबाट सिडिएससीलाई २५ प्रतिशत कमिशन जाने गरेको छ । यस्तै अहिले सेयर लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमशिन तिर्ने गरेका छन् ।

यस्ताे छ हाल कायम रहेको ब्रोकर कमिशन:


क्लिकमान्डु