एसिया कपमा नेपालद्वारा भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । एसिया कपअन्तर्गत जारी खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाका कारण अवरुद्ध भएर पुन: सुरु भएको खेलमा नेपालले ४८.२ ओभर खेल्दै २३० रन जोडेको हो ।
नेपालका लागि ओपरन आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलको सामना गर्दै ८ चौका प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेल २५ बलमा ३८ रन बनाएर आउट भए । उनले ३ चौका र २ छक्काको मद्दतमा उक्त स्कोर तयार गरेका हुन् ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामीले ५६ बलमा ४८ रनको उत्कृष्ट प्रदर्शन गरे । उनले १ चौका र २ छक्का प्रहार गरे ।
भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्लको प्रदर्शन भने निराशाजनक रह्यो । सार्की ७, पौडेल ५ तथा मल्ल २ रनमा पेभेलियन फर्किए ।
गुल्सन झाले ३५ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए । दिपन्द्रसिंह ऐरीले २९ तथा सन्दीप लामिछानेले ९ रन जोडे । करण केसीले १ रन बनाए ।
नेपालको ब्याटिङ लाइन धराशयी बनाउने क्रममा रविन्द्र जडेजा र मोहम्मद सिराजले ३-३ विकेट लिए भने सार्दुल ठाकुर र मोहम्मद सामीले १-१ विकेट लिए ।